धनगढी। सुदुरपश्चिमका निबर्तमान डीआईजी अशोक सिंहसहित प्रहरीका गोप्य विवरण सार्वजनिक गरेको भन्दै हवल्दार माथी अनुसन्धान अघि बढाइएको छ। प्रहरीका उच्च अधिकारीहरु एआईजी तथा डीआईजीहरुको व्यक्तिगत गोप्य विवरणहरु जन्म मिति तथा सिट रोल सार्वजनिक गरेको आरोपमा एक जना प्रहरी हवल्दारमाथि अनुसन्धान अघि बढाइएको हो।
प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहको जन्ममिति विवाद सार्वजनिक भएका बेला प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहसहित अरु अधिकृतहरुको पनि जन्ममिति सिट रोलको विवरण सार्वजनिक भएको थियो । गोप्य रहनुपर्ने सिट रोलको विवरण सार्वजनिक भएपछि प्रहरीले आन्तरिक छानबिन गरेको थियो। त्यसक्रममा भएको जाँचमा भाइबरमार्फत गोप्य विवरण पठाएको देखिएपछि कर्मचारी प्रशासन शाखाका हवल्दार दीपक विष्ट कारबाहीमा परेका हुन्। विष्टलाई कर्मचारी प्रशासन शाखाबाट हटाएर १ नम्बर प्रहरी गणमा काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालय उच्च स्रोतले बतायो। विष्ट २०६९ सालदेखि कर्मचारी प्रशासन शाखामा कार्यरत थिए ।
प्रहरी प्रवक्ता पोषराज पोखरेलले बाहिर आएको कागजात सही भए नभएको यकिन नभएको बताए । उनले छानबिनबारे चाहिँ आफुलाई जानकारी नभएको बताए। नेपाल प्रहरीका प्रवक्ता तथा डीआईजी पोषराज पोखरेलले गोप्य विवरणहरु सार्वजनिक कसरी भयो भन्नेबारे अनुसन्धान भइरहेको बताए। अनुसन्धानबाट पुष्टि भएपछि विभागीय कारबाही हुने उनले बताए। केही दिन अघि मात्रै डीआईजी अशोक सिंहको जन्म मिति डेढ वर्ष फरक भएकोदेखि अन्य प्रहरी कर्मचारीको समेत जन्म मिति फरक भएको विषय सार्वजनिक भएको थियो।
डीआईजी सिंहको जन्ममिति विवादबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ३ फागुनमा उजुरी परेको थियो। प्रहरी प्रधान कार्यालयको छानबिनबाट पनि नागरिकता र शैक्षिक प्रमाण पत्रमा उल्लिखित जन्ममितिमा १ वर्ष ६ महिना २४ दिनको फरक देखिएपछि सिंहले राजीनामा दिएका थिए । उनको राजीनामालाई स्वीकृतिका लागि प्रहरी प्रधान कार्यालय, नक्सालले गृह मन्त्रालय पठाएको छ ।उनको सिट रोलको विवरण सार्वजनिक हुँदा अन्य उच्च अधिकृतहरुको जन्ममितिको विवरण समेत बाहिर आएको थियो । त्यसपछि प्रहरी प्रधान कार्यालयले आन्तरिक छानबिन थालेको थियो।
यसरी सार्वजनिक विवरण अनुसार अशोक सिंहकै ब्याची डीआईजी भीमप्रसाद ढकालको जन्ममिति पनि शैक्षिक प्रमाण पत्र र नागरिकतामा फरकफरक देखिएको छ । ढकालको नागरिकतामा जन्ममिति २८ मंसिर २०२४ उल्लेख छ। तर, शैक्षिक प्रमाण पत्रमा २८ मंसिर २०२५ उल्लेख छ। उनको उमेर एक वर्षले फरक देखिन्छ ।उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख एआईजी दिवेश लोहनीको जन्ममिति ६ महिना २६ दिनले फरक देखिएको छ। नागरिकता अनुसार उनको जन्ममिति १५ वैशाख २०२५ छ भने शैक्षिक प्रमाण पत्रमा १९ असोज २०२४ छ। लोहनी हालका आईजीपी धिरजप्रताप सिंहका ब्याची हुन्। उनकै ब्याचका डीआईजी मसउद आलम खाँको नागरिकता र शैक्षिक प्रमाण पत्रबीच ५ महिना १ दिनले जन्ममिति फरक छ ।डीआईजी श्यामलाल ज्ञवालीको ५ महिना ५ दिन र किरण बज्राचार्यको २९ दिनले जन्ममिति फरक देखिएको छ। तर प्रहरी नियमावलीमा कुनै प्रमाण पत्रमा वर्ष मात्र उल्लेख भएको भए अर्को प्रमाण पत्रमा पूरा जन्ममिति खुलेको रहेछ भने त्यस्तोमा एक वर्षसम्मको अन्तर देखिए पूरा खुलेको जन्ममितिका आधारमा कायम गर्ने प्रावधान रहेको छ ।