धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ। बुधबार बिहान काठमाण्डौँस्थीत चाक्सीबारी पुगेर मुख्यमन्त्री शाहले सिंहलाई भेटेका हुन्।
मुख्य मन्त्री शाहलाई कांग्रेसका नेता सिंहले बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दै राजनितीक अवस्थाका बारेमा चाँसो लिएका थिए। भेटमा मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशको वर्तमान राजनितीक अवस्थाबारे नेता सिंहलाई जानकारी गराए। उनले विश्वासको मतबारे विभिन्न दलहरूसँग छलफल गरिरहेको पनि बताएका थिए।पुस २७ गते मुख्यमन्त्री नियुक्त एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि पदमुक्त भएका थिए।त्यसपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम संसद्को सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतले कांग्रेसका शाह सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त भएका थिए। उनले पनि एक महिनाभित्र विश्वासको मत लिइसक्नु पर्छ। उनले पनि अहिलेसम्म विश्वासको मत लिएका छैनन्। नागरिक उन्मुक्तिले विश्वास मत नदिने अडानपछि मुख्यमन्त्री शाह शिर्ष नेतासँगको भेट र छलफललाई तिब्र बनाइरहेका छन्।
नागरिक उन्मुक्तिले विश्वासको मत नदिने अडान यथावत् राखेको छ भने माओवादी केन्द्रले संघको राजनीतिक समीकरण कुरिरहेको छ। बिश्वासको मतकालागी शाहलाई नागरिक उन्मुक्ति वा माओवादीको समर्थन चाहिन्छ। ५३ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा सरकार बनाउन २७ सांसद आवश्यक पर्छ। नेपाली कांग्रेसका १९ र एकीकृत समाजवादीका ४ गरेर सत्तारुढ पक्षसँग अहिले २३ सांसद छन्। प्रदेश सभामा माओवादीका सभामुखबाहेक १०, एमालेका १०, नाउपाका ७ र राप्रपाका १ र १ जना स्वतन्त्र सांसद छन्।