दार्चुला। दार्चुलाको व्याँस गाउँपालिकाले निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णानन्द बडूलाई जिम्मेवारीबाट हटाएको छ । कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै उनलाई गाउँ कार्यपालिका बैठकले जिम्मेवारीबाट हटाएको हो।
फागुन ५ गते व्याँस गाउँपालिकाका कर्मचारी कार्यालय छोडेर धनगढीमा रमाउँदै शीर्षकका सामाचार प्रकाशित भएपछि कार्यपालिका बैठकले उनलाई जिम्मेवारीबाट हटाएको हो। तत्कालका लागि निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी स्वास्थ्य संयोजक चन्द्रसिंह कुँवरलाई दिइएको छ।बडूसँगै धनगढी गएका लेखापाल गोपालसिंह विष्ट, प्राविधिक शाखाका इन्जिनियर रमेशसिंह धामी, सबइन्जिनियर भुवन पन्त, प्राविधिक वीरेन्द्र विष्ट र प्रेम कोट्टारीलाई स्पष्टीकरण सोध्ने निर्णय भएको छ।
प्राविधिक शाखाका पूरै टिम गाउँपालिकालाई जानकारी समेत नगराई धनगढी गएको पाइएकाले स्पष्टीकरण सोध्ने निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता उपेन्द्रसिंह धामीले जानकारी दिए ।कार्यपालिका बैठकले रोजगार संयोजक रमेश भट्टलाई समेत स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । कर्मचारी भए पनि राजनीतिमा सक्रिय रहेको भन्दै कार्यपालिका बैठकले पहिलो पटकलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।