दाङ। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले चुनावअघि राष्ट्रपति हाम्रो पार्टीलाई दिन देउवा–प्रचण्ड सहमत भएको बताएका छन्। उनले राष्ट्रपतिबारे चुनावअघि कांग्रेस र माओवादीसँग कुरा भएको भन्दै त्यस बेला आफूहरूले नाम अघि सारेको र त्यसमा कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष प्रचण्ड दुवैले सहमति जनाएको बताए ।
मंगलबार दाङका सञ्चारकर्मीहरूसँग कुरा गर्दै चाहाना राख्नु एउटा कुरा भए पनि त्यसबारे आफू र आफ्नो पार्टीले केही सोचिसकेको अवस्था नरहेको बताएका हुन् । त्यस क्रममा उनले पावर सेयरिङका सवालमा आफ्नो पार्टीको भूमिका हुनुपर्ने बताए। उनले भने, ‘चाहना राख्ने कुरा बेग्लै हो, मैले पनि के गर्ने भन्ने सोचिसकेको छैन। हाम्रो पार्टीले पनि के गर्ने भन्ने सोचिसकेको छैन।
‘हाम्रो पार्टीको धारणा पावर सेयरिङमा हाम्रो पार्टीको भूमिका हुनुपर्दछ उनले भने, पावर सेयरिङमा भूमिका नभएर सधैँभरी अरूको निम्तीमात्रै बलिदान हुने र अरूले फाइदा उठाउने कुरा हुन सक्दैन।’ पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले देशको हित गर्ने सन्दर्भमा सबै गम्भीर हुनुपर्ने बताए। ‘संविधान र गणतन्त्रको रक्षाका लागि सजग हुनुपर्ने र गणतन्त्र जोगाउने कुरा अहिलेको आवश्यकता हो। तर हाम्रोतर्फबाट राजनीतिक मूल्यमान्यता र आदर्शलाई त्यागेर कुनै किसिमको सहमति, सम्झौता सम्भव छैन। यिनै कुराहरूलाई ध्यानमा राखेर कुराकानीहरू गर्छौ। कुरा गर्न चाहने र विचार मिल्न सक्नेसँग कुरा गर्छौ’, नेपालको भनाइ छ ।