धनगढी। सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार पाँचै वर्ष चल्ने बताएका छन्। सोमबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकारहरुसँगको भेटघाट गर्दै शाहले सो कुरा बताएका हु्न् । उनले प्रदेश सभामा प्रतिनिधित्व गर्ने कुनै पनि राजनीतिक दलले मध्यावधि निर्वाचन नचाहेको बताए।
प्रदेश सभामा कुनै पनि दलको प्रष्ट बहुमत नरहेको अवस्थामा सुदूरपश्चिममा मध्यावधि निर्वाचन हुने आशंका व्यक्त भएको बताउँदै शाहले प्रदेश सरकार पूर्ण कार्यकाल चल्ने दाबी गरेका छन् । विश्वासको मतका लागि सबै दलहरुसँग सकारात्मक छलफल भैरहेको उनले बताए। ‘विश्वासको मतका लागि सबै दलहरूसँग सकारात्मक छलफल भइरहेको छ। केही दिनमा हामी विश्वासको मत लिन्छौँ’ उनले भने, ‘सुदूरपश्चिम सरकार ५ वर्ष निरन्तर चल्छ।’ उनले सुदूरपश्चिम प्रदेशमा मध्यावधि निर्वाचन नहुने भने।
प्रदेश मध्यावधि निर्वाचनमा जाने कुरा कुनै दल अथवा जनताले नचाहेको हुदाँ प्रदेश फेरि पनि चुनावमा गए जनताले लखेट्ने उनले बताए। उनले निर्वाचन सम्पन भएको धेरै समय भएको छैन त्यहि कारण कसैले पनि चुनाव नचाहेको बताए । २७ पुसमा मुख्यमन्त्री नियुक्त एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि पदमुक्त भएका थिए। उनलाई समर्थन गरेको नागरिक उन्मुक्ति विश्वास मत नदिएपछि रावल पदमुक्त भएका थिए । त्यसपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दल (नेपाली कांग्रेस)को संसदीय दलको नेताको हैसियतमा शाह २६ माघमा सुदूरपश्चिमको तेस्रो मुख्यमन्त्रीमा नियुक्त भएका थिए । संविधानअनुसार शाहले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ।