कैलाली। कैलाली– २ बाट निर्वाचित प्रतिनिधि सभाका सांसद अरुण चौधरी जिल्ला कारागार कैलालीबाट रिहा हुँदैछन् । टयाक्टर तोडफोडको आरोपमा पक्राउ परेका सांसद चौधरीलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बाँकी कैद मिनाहा गरिदिए पछि उनी रिहा हुन लागेका हुन् ।
उनको रिहाइका लागि कैलाली जिल्ला प्रशासन कार्यालयले आवश्यक कानूनी पक्रिया शुरु गरेको छ । तर प्रजातन्त्र दिवसको अवसरमा सरकारी बिदा हुने भएकाले उनको रिहाई आजै हुने कि भोलि अझैसम्म टुंगो भने लागिसकेको छैन ।यद्यपि नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी रिहाई हुने भएपछि पार्टीका कार्यकर्ता जिल्ला कारागार कैलालीमा स्वागतका लागि पुग्ने भएका छन् ।
२०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीनजना विरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रूपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो ।एक दशक अगाडिको सो मुद्धा अनुसार छ महिना कैद भुक्तान नगरेको भन्दै सांसद चौधरीलाई १९ माघमा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।अरुण चौधरीलगायत चार जना आज जिल्ला कारागार कैलालीबाट रिहा हुने भएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३९५ जना कैदीको सजाय माफी गरिदिएकी छन्। सोही सूचिमा कैलाली कारागारमा रहेका चार जनाको नाम समावेश रहेको कारागार स्रोतले जानकारी दिएको छ।१० बजे पछि जिल्ला प्रशासन कार्यालयबाट आवश्यक प्रक्रिया पुरा गरेर उनीहरूलाई रिहा गर्ने तयारी कारागार प्रशासनले गरेको छ। जिल्ला कारागारमा रहेका सात जनालाई सजाय माफीका लागि आग्रह गरिएको भए पनि चार जनाको मात्रै सजाय माफी भएको छ।