धनगढी। बैतडीको पुरचौडीं नगरपालीकामा लफडा भएपछि हाकिम भागेर धनगढी आएका छन् । स्थानीयबाट असुरक्षाको महसुस भएको भन्दै प्रशासकीय अधिकृत वीरबहादुर नेपाली भागेर सदरमुकाम हुँदै बैतडी सदरमुकाम हुँदै बुधवार धनगढी पुगेका हुन्।
सोमवार रोजगार सहायक एक जना, कम्प्युटर अपरेटर एक जना, एमआइएस अपरेटर एक जना र १२ जना कार्यालय सहयोगीका लागि भएको परीक्षामा मनोमानी गरेको आरोप लागेको थियो । परीक्षामा मनोमानी गरेको भन्दै परीक्षार्थीहरुले उनलाई घेरेपछि सुरक्षाको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई भेटेका थिए । उनले करारमा कर्मचारी राख्न खोलेको विज्ञापनको परीक्षाफल प्रकाशनमा कुनै त्रुटि नभएको बताए । स्थानीयबाट सुरक्षाको खतरा महसुस गरेको उनले भने।
तर हाकिमले मिलेमतोमा नतिजा प्रकाशित गरेर आफू फरार भएको एक जना परीक्षार्थीले बताएका छन् । हाकिम’ले मनोमानी गरेर नतिजा निकालेको र निष्पक्ष किन भएन भनेर सोध्दा हाकिम गायब भएको एक जना परीक्षार्थीले बताए। प्रमुख प्रशासकीय अधिकृत नेपालीले कार्यविधि विपरीत परीक्षा गरेको नगर उपप्रमुख मिना धानुकले बताए। हाकिम साबले कुनै सल्लाह नगरेरै परीक्षा गराएको र परीक्षा गर्दा परीक्षा समितिका अन्य सदस्यको सहभागिता पनि नगरिएको बताइन्। तर हाकिम कता र कहाँ गए भन्ने हामीलाई थाहा नभएको बताइन्।यता परीक्षा निष्पक्ष बनाउन सबै उपाय अपनाएको र कुनै गल्ती नभएको प्रमुख प्रशासकीय अधिकृत नेपालीले बताएका छन् । नतिजा सार्वजनिक नगर्दै स्थानीय घेराउ गर्न आएपछि सुरक्षाकर्मीको सहयोगमा धनगढी पुगेको बताए।