काठमाडौँ। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लैजान कीर्तिपुर बर्न अस्पतालबाट निकालिएको छ। जलेर घाइते भएका भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लैजानका लागि कीर्तिपुर अस्पतालबाट एम्बुलेन्समा राखेर विमानस्थल लगिएको हो।
भण्डारीलाई बम्बईको नेशनल वर्न सेन्टरमा उपचारका लागि लगिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। उनको उपचार टिममा डा।प्रदीप तिवारी (क्रिटिकल केयर हेड), डा.बृहस्पति (एनेस्थेसिया एण्ड क्रिटिकल केयर), डा. रोशन शर्मा, (फ्लाइट डाक्टर इएमएस) सहभागी रहने मन्त्रालयले जनाएको छ। त्यस्तै दिनेश राई (प्यारामेडिक्स इआर), सागर महर्जन (प्यारामेडिक्स इआर) र राज तामाङ (प्यारामेडिक्स इआर) पनि उपचार टोलीमा रहेका छन्।
एयर एम्बुलेन्सको रुपमा लगिने सो फ्लाइटमा मेडिकल टिमको व्यवस्थापन नर्भिक अस्पतालले गर्ने भएको छ। नर्भिकबाट ६ जना चिकित्सकको टीम फ्लाइटमा हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बुधबार राति बुद्धनगरस्थित घरमा आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला गम्भीर घाइते भएका थिए । हरिकलाको आज बिहान उपचारकै क्रममा निधन भएको छ ।