धनगढी। सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह बिश्वासको मतका लागी बिभिन्न राजनितीक दलका नेतासँग भेटघाटमा बेस्त छन्। एक महिना भित्र बिश्वासको मतकालागी नागरिक उन्मुक्तीका शिर्ष नेता देखी माओवादीका नेतासम्म भेटघाट गरिरहेका छन्।
संविधानको धारा १६८ (३) अनुसार ठूलो दलको संसदीय दलको नेताको हैसियतमा २६ माघमै कांग्रेसका शाह मुख्यमन्त्री बनेका थिए। नागरिक उन्मुक्ति पार्टीका ७ प्रदेशसभा सदस्यले विश्वासको मत दिएमा शाहको मुख्यमन्त्री पद कायम रहने र नभए एक महिनामै पदमुक्त हुनेछन्। माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका शाहले २४ घण्टा नबित्दै टीकापुरस्थित सिद्धार्थ होटलमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई भेटेका थिए।
श्रेष्ठसँग विश्वासको मत मागेका उनले ठोस जवाफ नपाएपछि डिल्लीबजार कारागार पुगेर उक्त पार्टीका संरक्षक रेशम चौधरीलाई भेटेका थिए। यस्तै माघ २८ मा कैलालीको जानकी गाउँपालिकास्थित रेशमको घर पुगेका शाहले उनको परिवारसँग रेशमलाई जेलबाट छुटाउने आश्वासन दिएका थिए। डिल्लीबजार कारागारमा भेट्दा पनि रेशमलाई त्यही आश्वासन दिएको स्रोतले बताएको छ।
रेशमले विश्वासको मतका दिने कि नदिने निर्णय हतारमा नगर्ने जवाफ दिएका थिए। नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएकै कारण एमालेका राजेन्द्र सिंह रावल नेतृत्वको सरकार ढलेको अवस्थामा फेरी बिश्वासको मत नपाइने आशंका शाहलाई लागेको छ। नागरिक उन्मुक्ती पार्टिका नेतासँगको छलफलबाट ठोस र आशलाग्दो जवाफ नपाएपछि विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्री शाह पछि हट्न थालेका छन्। कांग्रेसका एक प्रदेशसभा सदस्यका अनुसार उनी फागुन पहिलो सातामै पछि हटेका छन्। उनले केन्द्रमा बनेको माओवादी केन्द्र, एमाले नेतृत्वकै गठबन्धनमा रहेको उन्मुक्तिलाई साथमा लिएर विश्वासको मत दिनका लागी तत्काल कतै नलाग्ने सन्देश दिएपछि यो अवस्था सिर्जना भएको बताए।
नागरिक उन्मुक्ति पार्टीका महासचिव रतन थापाले जेलबन्दीको रिहाइ नै पार्टीको पहिलो प्राथमिकता भएकाले शाह नेतृत्वको सरकारलाई पनि विश्वासको मत नदिने दाबी गरेका छन् । उनले पार्टिको मुख्य माग र मुद्धा रेशम चौधरीसहितका राजबन्दीको रिहाई भएकाले अहिले कसैलाई विश्वासको मत नदिने बताए । नागरिक उन्मुक्ति पार्टीले तत्काल बिश्वासको मत नदिने बताएपछि मुख्यमन्त्री शाह माओवादी केन्द्रसँग आशावादी बनेका छन् । माओवादीका नेताहरुले आफूहरु प्रमुख प्रतिपक्षी दल भएकाले विश्वासको मत दिन नसकिने जावफ दिइरहेको सुदूरपश्चिमका एक जना कांग्रेस नेताले बताए। केन्द्रमा राष्ट्रपतिको निर्वाचनका बेला राजनीतिक समीकरणलाई बुझ्नुपर्ने भनेको बताए। त्यसपछि मात्रै बिश्वासको मत दिने नदिने बारेमा थाहा हुनेछ।
कांग्रेसका प्रदेशसभा सदस्य मेघराज खड्काले राष्ट्रपतिको निर्वाचनअघि नै मुख्यमन्त्री शाहले विश्वासको मत लिने बताएका छन्। कांग्रेसका प्रदेशसभा सदस्य खड्काले विश्वासको मत पाउनेमा ढुक्क रहेको बताउँदै नाउपासँग विश्वासको मतबारे कुराकानी भएपनि रेशम चौधरीको रिहाइ लगायतका माग, मुद्दा प्राथमिकतामा रहेको बताए। संघ र अन्य प्रदेश माओवादीको सरकारलाई कांग्रेसले विश्वासको मत दिएकाले माओवादीले सुदूरपश्चिममा कांग्रेसलाई सहयोग गर्नुपर्ने कांग्रेस नेताहरुको भनाई छ । यता माओवादी केन्द्रका नेता खगराज भट्टले कांग्रेस नेतृत्वको सरकारलाई विश्वासको मत दिनेबारेमा कुनै कुराकानी नभएको बताए । उनले प्रदेश सरकारलाई विश्वासको मत दिने विषय अनावश्यक कुरा भएको बताए।
त्यसतर्फ कुराकानी नभएको बताउँदै सुदुरपश्चिम सरकार कसरी अघि बढ्ने भन्ने बारेमा मात्रै ध्यान रहेको बताए।नेकपा एमालेले पनि मुख्यमन्त्री शाह नेतृत्वको सरकारले विश्वासको मत पाउने अवस्था नदेखिएको एमालेका प्रदेशसभा सदस्य धर्मराज पाठकले बताए। यस्तो अवस्थामा संविधानको धारा १६८ को (५) अनुसार सरकार बनाउनुपर्ने हुनसक्ने उनको भनाई छ। ५३ सदस्यीय प्रदेशसभामा कांग्रेसको १९, एकीकृत समाजवादीको ४ गरी २३ जना शाहको पक्षमा छन्। तर प्रदेशसभाको विश्वास पाउन २७ सांसदको समर्थन आवश्यक पर्छ। स्वतन्त्र सांसद डा. ताराप्रसाद जोशीले सघाएमा शाहको पक्षमा २४ जनाको समर्थन पुग्छ । यसो हुँदा पनि शाहलाई थप ३ सांसदको समर्थन चाहिन्छ । माओवादी वा नागरिक उन्मुक्ति पार्टीले सघाएमा मात्र उनले विश्वासको मत पाउँछन्। सुदूरपश्चिममा काँग्रेसका १९, माओवादी केन्द्रका सभामुखसहित ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका चार, राप्रपाका एकर एक जना स्वतन्त्र प्रदेश सभा सदस्य छन्।

