धनगढी। राष्ट्रिय दलित आयोगले कारबाही गर्न भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीलाई पत्र पठाएको छ। दलित समुदायलाई हिंसात्मक तथा विभेदजन्य शब्द प्रयोग गर्ने व्यक्तिलाई कारबाही गर्न भन्दै कैलाली प्रहरी लाई पत्र पठाएको हो।
सामाजिक सञ्जालमा सिंगो दलित समुदायलाई नै ठेस पुग्नेगरी गोपाल खड्का नामक आइडीबाट विभेदजन्य तथा हिंसात्मक शब्द प्रयोग गरेको भन्दै कारबाहीको माग गर्दै आयोगले कैलाली प्रहरीलाई पत्र पठाएको हो। गोपाल खड्का नामक फेसबुक आइडीबाट ‘देवस्थानमा खड्का, बिष्ट, धामी, रावल, खाती र बोहरा एकजुट भएर एकजना दलितको ज्यान नलिएसम्म यिनीहरु सुधर्ने वाल छैनन्’ भन्ने लगायतका शब्द प्रयोग भएको पत्रमा भनिएको छ।
दलितमाथि विभेदजन्य हिंसात्मक शब्दहरु प्रयोग भएको र अन्य व्यक्तिहरुले पनि सो को समर्थन गरी गालीगलौच गरेको देखिएकोमा यसबारे आयोगमा गुनासो आएकाले कागजात संलग्न गराई कारबाहीका लागि पत्र पठाइएको आयोगले जनाएको छ। गोपाल खड्का नामक फेसबुक आइडी चलाउनेलाई तत्काल छानबिन गरी कारबाही गर्नुपर्ने र सो को विवरण आयोगमा पठाउन पत्रमा अनुरोध गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउदले पत्र प्राप्त नभएको प्रतिक्रिया दिएका छन्। उनले रिटका आधारमा अनुसन्धान प्रक्रिया अघि बढाउने जानकारी दिए।

