धनगढी। नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल धनगढीमा पुगेका छन्। मंगलवार खनाल पार्टीको प्रदेशस्तरीय प्रशिक्षणका लागि धनगढी आएका उनले अहिलेको सत्तारुढ गठबन्धन भत्किने सम्भावना नरहेको बताएका छन्।
समाजवादी प्रेस संगठन कैलालीले मंगलवार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खनालले सो कुरा बताएका हुन्। उनले अहिलेको एमाले नेतृत्वको सत्ता गठबन्धन भत्किएर नयाँ बन्ने सम्भावना नरहेको बताए। उनले अहिलेको गठबन्धन भत्किने र नयाँ बन्ने सम्भावना नरहेको र राष्ट्रपतिको निर्वाचनको हकमा भने सबै राजनीतिक दलले सही निर्णय लिएर अघि बढ्नुपर्ने बताए।
राष्ट्रपतिको निर्वाचन भनेको महत्त्वपूर्ण बिषय भएकाले सबै राजनीतिक दलले सुझबुझ र बडो दुरदर्शिताका साथ संविधानको मर्म, हामीले स्थापित गरेको लोकतान्त्रिक मूल्य, मान्यताका साथ राम्रो व्यक्तित्वलाई पदमा पुगाउनुपर्ने बताए। त्यसका लागि सबै पार्टीहरूले राम्रोसँग समन्वयका साथ लाग्नुपर्ने बताए। उनले राजनीतिक दलहरूबीच हुने सहमतिका आधारमा आवश्यक परेमा आफ्नो पार्टीले पनि राष्ट्रपतिमा उम्मेदवार उठाउने उनको भनाइ छ। उनले राष्ट्रपतिमा राजनीतिक मान्छे नै हुनुपर्ने र गैरराजनीतिक मान्छेलाई राष्ट्रपति बनाउदा लोकतन्त्र नै समस्यामा पर्ने उनले बताएका छन्।