कैलाली। प्रधानमन्त्री पुष्पकमल दाहल (प्रचण्ड) भोली सुदूरपश्चिममा आउने भएका छन्। कञ्चनपुरको महेन्द्रनगरमा भोली देखी सञ्चालन हुने महोत्सवको उद्घाटन र गौरबका आयोजनाहरुको अनुगमन गर्न प्रधानमन्त्री प्रचण्ड सुदूरपश्चिम आउन लागेका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलो पटक सुदूरपश्चिम प्रदेश आउन लागेका हुन्। भोली (सोमबार) हेलिकप्टर मार्फत प्रचण्ड करिब १० बजे कैलाली पुग्ने छन्। कैलालीको गेटामा रहेको मेडिकल कलेजको निरीक्षण गर्ने प्रधानमन्त्रीको पहिलो कार्यक्रम रहेको छ। अरबौँका संरचना निर्माण भएर पनि सञ्चालन हुन नसक्नुको कारण पहिचान गर्ने र सञ्चालनको लागि वातावरण निर्माण गर्ने उद्देश्यले प्रधानमन्त्रीले भोली मेडिकल कलेजको निरीक्षण गर्न लागेका हुन्।
त्यस लगत्तै प्रधानमन्त्री महेन्द्रनगर प्रस्थान गर्ने छन्। महेन्द्रनगरमा खाना खाने र त्यसपछि सुख्खा बन्दरगाहको निरीक्षण गर्ने कार्यक्रम तयार गरिएको छ।सुख्खा बन्दरगाहको निरीक्षण पछि महेन्द्रनगरमा भोली देखी सुरु हुन लागेको महोत्सव प्रधानमन्त्रीले उद्घाटन गर्ने छन्। त्यस लगत्तै पार्टी जिल्ला कमिटीले जनयुद्ध दिवसको आसवरमा आयोजना गरेको कार्यक्रममा प्रचण्ड सरिक हुने छन्। एकै दिनका यी कार्यक्रम सम्पन्न गरेर प्रचण्ड भोलीनै काठमाडौँ फर्किने कार्यपालिका रहेको माओवादी प्रदेश अध्यक्ष हरिराम चौधरी उत्सवले जानकारी दिए। यस्तै निर्माणाधीन महाकाली करिडोर, दैजी–छेला औद्योगिक क्षेत्र, सिमानाका, सेती लोकमार्गको बिकास लगायत विभिन्न राष्ट्रिय गौरबका आयोजना छन्। आयोजनाहरुको हालको अवस्था, प्रगति विवरण र थप बजेट त्यस बारेमा अनुगमन, निरीक्षण गर्नेपनी जनाइएको छ।