धनगढी। सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह र नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीबीच भेटवार्ता भएको छ। शनिवार बिहान कैलालीको टीकापुरमा रहेको एक होटलमा मुख्यमन्त्री शाह र चौधरीबीच ‘वान टू वान’ वार्ता भएको हो ।
भेटमा समसामयिक राजनीतिक विषय र सुदूरपश्चिमको नवगठित सरकारका विषयमा कुराकानी भएको मुख्यमन्त्री शाहले बताए। स्रोतका अनुसार भेटमा मुख्यमन्त्री शाह र चौधरीबीच समसामयिक राजनैतिक घटनाक्रमबारे छलफल तथा कुराकानी भएको छ।‘उहाँहरुले एमाले नेतृत्वको सरकारलाई विश्वासको मत नदिएपछि मेरो नेतृत्वमा सरकार गठन भएको छ, शाहले भने, मुख्यमन्त्री भएपछि पहिलो पटक उहाँसँग ‘समान्य राजनीतिक विषयमा कुराकानी भयो ।’
तपाईले उहाँसँग विश्वासको मत पनि माग्नुभयो ? भन्ने जिज्ञाशामा शाहले भने, ‘हो, त्यो विषयमा पनि समान्य कुरा भयो उनले भने।’ यस्तै सुदूरपश्चिम प्रदेश सरकार र विश्वासको मतबारे पनि छलफल भएको हो। भेटमा मुख्यमन्त्री शाहले आफूलाई विश्वासको मत दिएर सहयोग गर्नुपर्ने आग्रह गरेका थिए भने रन्जिताले पनि पार्टीमा छलफल गरेर त्यो कुरा टुंगो लगाउने बताएकी थिइन्। यसअघि मुख्यमन्त्री शाहले रेशम चौधरीको परिवारलाई पनि भेटेका थिए। आज बिहान मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीका संस्थापक समेत रहेका टीकापुर हत्याकाण्डमा दोषी प्रमाणीत भइ डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका चौधरीकी आमा र परिवारका अन्य सदस्यलाई भेटेका हुन्।
सुदूरपश्चिममा एमालेका राजेन्द्र सिंह रावललाई मुख्यमन्त्रीमा समर्थन गरेको नाउपाले माग, मुद्दा सम्बोधन नभएको भन्दै विश्वासको मत नदिएपछि बिहीबार उनी नेतृत्वको सरकार ढलेको थियो । बिहीबार नै प्रदेश प्रमुख देवराज जोशीले ठूलो दलको हैसियतमा शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। शुक्रबार पदभार ग्रहण गरेका शाहले शनिबार टीकापुर पुगेर नाउपाकी अध्यक्षलाई भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । हिजो मात्र कार्यभार सम्हालेका मुख्यमन्त्री शाहले आफूले रेशम चौधरीलाई छुटाउन अभियान थालिसकेको र त्यसमा आफू लागिसकेको पनि बताएका थिए।
पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले नागरिक उन्मुक्ति पार्टी प्रदेश सभा बैठकमा उपस्थित नभएपछि विश्वासको मत नपाएर राजीनामा दिएका थिए। रावलले राजीनामा दिएपछि संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा शाह मुख्यमन्त्री नियुक्त भएका थिए। शाहले पनि ३० दिनभित्र विश्वासको मत लिनु पर्ने छ। उनले आफूले ३० दिन भित्र विश्वासको मत पाउने दाबी समेत गरेका छन्। विश्वासको मतका लागि २७ मत आवश्यक पर्छ। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका १९, माओवादीका ११ (सभामुखसहित), एमालेका १० (उपसभामुखसहित), नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४ र राप्रपाका १ जना सांसद छन्।