काठमाडौं। सार्वजनिक पद धारण गरेका व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरूपयोग गरेको सम्बन्धमा अनुसन्धान गरी भ्रष्टाचार नियन्त्रणमा भूमिका निर्वाह गर्ने उद्देश्यले स्थापित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज स्थापनाको ३२औँ दिवस मनाउँदै छ।
मिलेर फालौँ भ्रष्टचारको जालो, सुशासन प्रबर्दनमा गरौँ हातोमालो’ भन्ने नाराका साथ काठमाडौंको टंगालस्थित केन्द्रीय कार्यालयसहित देशका ८ वटा अख्तियार कार्यालयले कार्यक्रम गरी स्थापना दिवस मनाइरहेका छन्। आयोगले २०४७ को संविधानको धारा ९७ र ९८ को व्यवस्थाबाट स्वतन्त्र एवं स्वायत्त संवैधानिक आयोगको मान्यता पाएको थियो।
नेपालको अन्तरिम संविधान, २०६३ ले आयोगलाई निरन्तरता दिएको थियो र हालको नेपालको संविधानद्वारा यस आयोगलाई भ्रष्टाचार नियन्त्रणमा केन्द्रित भई कार्यगर्ने गरी काम, कर्तव्य र अधिकार प्रदान गरेको छ। संविधानको मर्मअनुसार आयोगले दण्डात्मक, निरोधात्मक, प्रवर्द्धनात्मक र संस्थागत क्षमता विकासका रणनीतिहरूलाई अङ्गीकार गरी कार्यसम्पादन गर्नुपर्ने छ।