धनगढी : धनगढी स्थित मुख्यमन्त्री कार्यालय अगाडी एक युवकले अर्का युवकलाई खुकुरी प्रहार गर्न खोजेको पाइएको छ । धनगढी उप महानगरपालिका वडा नम्बर ५ का १८ बर्षिय सन्दिप शाहीले खुकुरी निकालेर अन्य युवाहरुलाई हान्न खोजेको घटना बाहिरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बिहिबार बिहान सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडी सन्दिप शाही, सागर पार्की, रोशन रावल र सुरेश बोहरा समूह बीचमा झडप भएको हो।
झडपका क्रममा शाहीले खुकुरी निकालेका थिए । झडपमा अन्य युवाहरुलाई समेत चोट लागेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक देवेन्द्र पालले बताए । धनगढीको मुख्य सडकमा झडप गर्दै गर्दा प्रहरीले शाहीलाई नियन्त्रणमा लिएको छ। प्रहरी उपरिक्षक पालका अनुसार अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरिएको छ। घटनाको विषयमा थप अनुसन्धान गरिने उनले बताए।