धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावल सिँह पदमुक्त भएका छन् । बिहीबार प्रदेश सभामा मुख्यमन्त्रीको पक्षमा बहुत नपुगेपछि उनी स्वतः पदमुक्त भएका हुन्।नागरिक उन्मुक्तिका सबै ७ सांसद प्रदेशसभा बैठकमा अनुपस्थित भएपछि मुख्यमन्त्रीले विश्वासको मत पाउन सकेनन्।
मुख्यमन्त्रीले लामो सम्बोधन गरेर आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए। मुख्यमन्त्रीले राखेको छलफलको प्रस्ताव नै बहुमतले अस्वीकृत भएपछि मतदानसम्म पनि पुग्न सकेन। तर ध्वनी मतबाट गरिएको मत विमाजनको प्रस्तावको विपक्षमा धेरै सांसदले हात उठाएकाले विश्वासको मत लिने प्रस्ताव अस्वीकृत भएको सभामुखले घोषणा गरेका थिए। सत्तारुढसँगै रहेको नागरिक उन्मुक्तिको समर्थनमा मुख्यमन्त्री बनेका रावलले विश्वासको मत नपाएपछि उनले मुख्यमन्त्री पद गुमाएका हुन्।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा ३ अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो। यस अवधिमा मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसके प्रदेश प्रमुखले प्रदेश सभामा सबैभन्दा बढी सदस्य भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ।५३ सदस्यीय प्रदेशसभामा कुनै पनि दलको एकल बहुमत छैन। मुख्यमन्त्रीलाई बहुमत सिद्ध गर्न २७ मत आवश्यक पर्छ। विश्वासको मत नपाएपछि उनले मुख्यमन्त्री पद गुमाएका हुन्। प्रदेश सभामा एमाले १०, माओवादी केन्द्र (सभामुख बाहेक) १० र राप्रपा १ गरी केवल २१ मत छ। ७ मत रहेको नागरिक उन्मुक्ति पार्टी निर्णायक देखिन्छ। जुन आवश्यक मत २७ भन्दा ६ मतले कम हो। विपक्षमा रहेको नेपाली कांग्रेसका १९, नेकपा (एकीकृत समाजवादी)का ४ र १ स्वतन्त्र सदस्य छन्।सुदूरपश्चिम प्रदेश सभा बैठक अनिश्चित कालका लागी स्थगित गरिएको छ । अब सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेपाली काँग्रेस संसदीय दलका नेता कमल शाह मुख्यमन्त्री बन्ने भएका छन्।