धनगढी। सुदूरपश्चिम प्रदेश सभाको बैठक साढे ४ बजे देखी सुरु भएको छ। आज दिउँसो १ बजे बोलाइएको बैठक स्थगित भएर साँझ ४ बजेसम्मका लागी सारिएको थियो। मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको प्रदेश सभाको बैठकमा नागरिक उन्मुक्ति पार्टीका सांसद उपस्थित नभएका हुन्।
सो पार्टीले मुख्यमन्त्री रावललाई रेशम चौधरी सहितका नेताहरुको रिहाइलाई माग सम्बोधन नभएको भन्दै विश्वासको मत नदिने निर्णय गरेको छ। सुदूरपश्चिम प्रदेश प्रदेश सभा सातौ बैठकमा मुख्यमन्त्री रावलले विश्वासको मत लिने आज अन्तिम हो । २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त रावलको आज एक महिना हुँदैछ। सरकार गठनको एक महिनाभित्र विश्वासको मत लिने संवैधानिक ब्यवस्था छ। नागरिक उन्मुक्ति पार्टीले साथ नदिँदा मुख्यमन्त्री रावलले विश्वासको मत पाउन कठिन छ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा ३ अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्छ। यस अवधिमा मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसके प्रदेश प्रमुखले प्रदेश सभामा सबैभन्दा बढी सदस्य भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ। ५३ सदस्यीय प्रदेशसभामा कुनै पनि दलको एकल बहुमत छैन। मुख्यमन्त्रीलाई बहुमत सिद्ध गर्न २७ मत आवश्यक पर्छ। प्रदेश सभामा एमाले १०, माओवादी केन्द्र (सभामुख बाहेक) १० र राप्रपा १ गरी केवल २१ मत छ। ७ मत रहेको नागरिक उन्मुक्ति पार्टी निर्णायक देखिन्छ। जुन आवश्यक मत २७ भन्दा ६ मतले कम हो। विपक्षमा रहेको नेपाली कांग्रेसका १९, नेकपा (एकीकृत समाजवादी)का ४ र १ स्वतन्त्र सदस्य छन्।