धनगढी। सुदूरपश्चिम प्रदेश सभाको आजको बैठकमा नागरिक उन्मुक्ती पार्टी सहभागी नहुने भएको छ। प्रदेश सभाको आज दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने तयारी गरेपनि नागरिक उन्मुक्ती पार्टी सहभागी नहुने भएको हो।
नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्यहरू भने काठमाडौंमै रहेका छन्। नागरिक उन्मुक्ती पार्टी संसदीय दलका नेता रामेश्वर चौधरीले आफूहरू प्रदेश सरकार गठनमा सहभागी नहुने बताए । काठमाडौंमा रहेका सांसदहरूले शुक्रबार मात्रै धनगढी फर्किन्छन् उनले भने। माग पूरा भएको छैन, हामी भोलीमात्र फर्कन्छौ उनले भने, प्रदेश सरकार गठन भन्दा पनि माग र मुद्दा पूरा हुनु हो । नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने बताएको छ। विश्वासको मत नदिने भएपछि योसँगै एमाले नेतृत्वको सुदूरपश्चिम सरकार संकटमा परेको छ।
प्रदेश सभामा नागरिक उन्मुक्तीका सात जना सांसद रहेको अवस्थामा उनीहरूले समर्थन नगरेपछि रावललाई विश्वासको मत नपुग्ने बताइएको छ। मुख्यमन्त्रीमा रावल गत पुस २७ गते नियुक्त भएका थिए। आज बिहीबार उनले विश्वासको मत नपाए रावल नेतृत्वको सरकार ढल्नेछ। नागरिक उन्मुक्ती पार्टीका संस्थापक रेशमलाल चौधरीलाई रिहाई नगरेको तर अर्का सांसद अरुण चौधरीलाई पक्राउ गरे पछि सत्तारुढ दलसँग नागरिक उन्मुक्ति आक्रोशित हुदैँ आएको छ।
बन्दीको रिहाई, झुटा मुद्दा फिर्तालगायतका माग सम्बोधन हुने विश्वासिलो आधार नभएकाले मुख्यमन्त्री रावललाई विश्वासको मत दिन नसकिने नागरिक उन्मुक्तिको भनाइ छ। नागरिक उन्मुक्तिले मत नदिएमा रावल नेतृत्वको सरकार बाहिरिने छ भने प्रदेश संसद सचिवालयले नयाँ मुख्यमन्त्री चयनका लागि कारवाही अघि बढाउने छ। ५३ सदस्यीय प्रदेश सभामा कुनै पनि दलको एकल बहुमत छैन।सुदूरपश्चिममा सरकार गठनका लागि २७ सांसद आवश्यक पर्छन्। प्रदेशसभामा नेपाली कांग्रेसका १९, नेकपा एकीकृत समाजवादी ४ र एक जना स्वतन्त्र सांसदसहित सत्ता बाहिर २४ सांसद छन्। नेकपा माओवादी केन्द्र ११ (सभामुख), नेकपा एमाले १० (उपसभामुख), नागरिक उन्मुक्ति ७ र राप्रपा १ गरेर सत्तारुढ गठबन्धनका पक्षमा २९ सांसद छन्।

