धनगढी। सुदूरपश्चिम प्रदेश सभाको बैठक सारिएपछि नेपाली कांग्रेसले आपत्ति जनाएको छ। सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिन आह्वान गरिएको बैठक सारिएपछि काँग्रेस संसदीय दलका नेता तथा प्रदेश सभा सदस्य कमलबहादुर शाहले आपत्ति जनाएका हुन्।
सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिँह रावलको बिश्वास मतकालागी आज दिउँसो १ बजे बोलाइएको बैठक स्थगित गरेर भोलि बिहीबार दिउँसो १ बजेसम्मकालागी सारिएको छ।तर नेपाली कांग्रेस सुदूरपश्चिमका संसदीय दलका नेता तथा प्रदेश सभा सदस्य कमलबहादुर शाहले आजका लागि बोलाईएको प्रदेशसभा बैठक बिनासहमतिमा स्थगित भएपछि आपत्ति जनाएको बताए । कांग्रेससँग सहमति नै नगरी बिनाजानकारी सभामुखले बैठक सारेको भन्दै उनले आपत्ति जनाएका हुन् । उनले मुख्यमन्त्रीको निर्देशनमा सभामुखले बैठक स्थगित गरेर सारिनुमा घोर आपत्ति रहेको शाहले बताए।
सत्तारुढ दलले मुख्यमन्त्रीकोे कुर्सी बचाउन मनलाग्दी गरेको आरोप लगाए। सभामुखले संसदीय मर्यादा विपरीत काम गरे’ शाहले भने। मुख्यमन्त्री रावलले विश्वासको मत नपाउने निश्चित भएपछि बैठक स्थगित गरिएको कांग्रेसको दाबी छ । रावल पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनले बिहीवारका लागि बोलाइएको बैठकमा विश्वासको मत लिनै पर्नेछ । सत्तागठबन्धनमा निर्णायक नागरिक उन्मुक्तिले विश्वासको मत दिनेबारे हालसम्म अनिर्णित बन्दा रावल नेतृत्वको सरकार संकटमा देखिएको छ। विश्वास नपाए उनको सरकार ढल्नेछ।
सत्तागठबन्धनमा निर्णायक नागरिक उन्मुक्ति पार्टीले अहिलेसम्म कुनै निर्णय गरेको छैन । नागरिक उन्मुक्तिलाई फकाउने अन्तिम प्रयास भइरहेको माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलका नेता खगराज भट्टले जानकारी दिए। प्रदेश सरकारका मुख्य न्यायधिवक्ता कुलानन्द उपाध्यायले मुख्यमन्त्री रावलले विश्वासको मत नपाए संबिधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलका हिसावले नेपाली काँग्रेसलाई सरकार बनाउने बाटो खुला हुने बताए ।सुदुरपश्चिमको ५३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीलाई बहुमत सिद्ध गर्न २७ मत आवश्यक पर्छ ।२७ पुसमा मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री रावलले एक महिनाभित्र प्रदेशसभाको विश्वास देखाउन नसकेमा स्वतः पदमुक्त हुने संवैधानिक व्यवस्था छ। सुदूरपश्चिममा कांग्रेसका १९, माओवादीका ११, एमालेका १०, नेकपा एसका ४ तथा राप्रपा र स्वतन्त्र एक/एक जना सांसद छन्। तर बहुमत पुर्याउन ७ सिट रहेको नागरिक उन्मुक्ति पार्टी निर्णायक छ।