काठमाडौं। नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सत्ता गठबन्धनमा ठूलो घटनाहरू हुने खतरा देखिएको बताएका छन्। सिंहदरबारस्थित कार्यकक्षमा सञ्चारकर्मीसँग उनले गठबन्धनका नेताहरूमा अधैर्यता र विचलन देखिएको बताए।
सरकारको सैद्धान्तिक धरातलसमेत कमजोर र विरोधाभाषपूर्ण रहेको भन्दै लेखकले यसैको परिणामस्वरूप सरकार अहिलेको अवस्थामा आइपुगेको बताए। गठबन्धनका नेता अत्ता अत्ताल्लिएको भन्दै उनले त्यसले ठूलै घटना हुने संकेत गरेको बताए । नेकपा एमाले सबैभन्दा धेरै विचलित भएको लेखकको टिप्पणी छ। ‘एमाले सबैभन्दा ज्यादा विचलित भएको छ। मैले संसदभित्र जुन रूप देखेँ । एमाले किन यति धेरै अधैर्य, विचलित भयो भन्ने कुरामा म गम्भीर भएको छु।
प्रधानमन्त्री एउटा हुने, साँच्चिकै देश अर्कोले चलाउन खोज्ने खालको जुन लक्षण देखिन लागेको छ। त्यसले त झन् ज्यादा सकसपूर्ण स्थिति उत्पन्न हुन्छ’, उनले भने’ ‘अहिले सरकारमा भएका दलका केही नेता अत्यन्तै आत्तिएका छन्।लेखकले थपे, ‘हामीले सत्ता समीकरण परिवर्तन गर्न खोजेको, अर्को समीकरण बनाउन खोजेको त्यस्तो केही पनि होइन। राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनमा हाम्रो ध्यान गम्भीर रूपले गएको छ। प्रधानमन्त्रीजीले राष्ट्रिय सहमति खोज्नुपर्छ भनिरहनुभएको छ । राष्ट्रिय सहमति कांग्रेसकै लागि त होला नि। अरु कसको लागि होला भन्ने हाम्रो बुझाइ हो।’उहाँहरूको जुन चिन्ता र अधैर्यता देखिराखिएको छ त्यसले नै सत्ताभित्र केही ठूलै घटनाहरू हुने खतरा देखिराखिएको छ। कांग्रेस अहिले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा केन्द्रित भएको पनि उनले बताए ।