काठमाडौं। प्रमुख दलका तीन शीर्ष नेताबीच सिंहदरबारमा भेटवार्ता भएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको छ।
सीमा सुरक्षा, राष्ट्रिय सुरक्षा लगायतको विषयमा प्रधानमन्त्री प्रचण्डले सम्बन्धित निकायका प्रमुखलाई राखेर गरेको ब्रिफिङमा देउवा र ओली सहभागी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। छलफलमा सुरक्षा निकायका प्रमुख, मन्त्रीहरू, मुख्यसचिव र सीमा सुरक्षा अधिकारीलगायत उपस्थित छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छोडेपछि तीन शीर्षनेताबीच पछिल्ला राजनीतिक र समसामयीक विषयमा छलफल भइरहेको छ ।
तीन नेताहरुबीच सीमालगायत अन्य राष्ट्रिय महत्वको विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सेनाले बताए । बैठकमा शीर्ष नेताहरू सहभागी भएपनि सत्ता साझेदारीका छलफल नभएको तिमिल्सेनाले दाबी गरे । सीमाको व्यवस्थापनसहित अन्य राष्ट्रिय महत्वको विषयमा छलफल गर्न बैठक बोलाइएको हो । राष्ट्रिय महत्वको विषय भएकाले अन्य सरोकारवाला निकायहरुसहित सबै पार्टीका शीर्ष नेताहरूलाई बोलाएको हो’ तिमिल्सेनाले भने ।