धनगढी। कैलालीको गेटा मेडिकल कलेज सञ्चालनमा अन्योलतामा रहेको छ। कैलालीको गेटामा मेडिकल कलेज वा ६ सय शैय्याको अस्पताल सञ्चालन गर्ने लक्ष्यसहित निर्माण भएको संरचना दुई वर्षदेखि अलपत्र अवस्थामा परेको छ । सरकारले मेडिकल कलेज सञ्चालनका लागि आवश्यक कानुन नबनाउँदा संरचना जीर्ण हुँदै गएको स्थानियहरुले बताएका छन्।
गेटामा भौतिक संरचना निर्माण भइसकेको अवस्थामा मेडिकल कलेज सञ्चालन नल्याउने सरकारले डडेल्धुरामा सञ्चालन गर्ने भनेर झुक्याउन खोजेको भन्दै संघर्ष समिति गठन गरेर आन्दोलन अघि बढेको थियो। तर संघर्ष समिति अहिले सुस्ताएको छ। जेठ १५ गते प्रस्तुत शेरबहादुर देउवा नेतृत्वको सरकारको बजेट वक्तव्यमा डडेल्धुरामा पनि मेडिकल कलेज सञ्चालनमा ल्याउने घोषणा गरेपछि गेटालाई ओझेलमा पार्न खोजेको भन्दै अत्तरियाका लोकराज पाण्डे संयोजकत्वमा संघर्ष समितिले धनगढीमा आन्दोलन भएको थियो।
पाण्डेले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन, सरकार गठन जस्ता कारणले यो बीचमा संघर्षका कार्यक्रम गर्न नपाएको बताए। उनले छिटो भन्दा छिटो गेटा मेडिकल कलेज सञ्चालन पर्ने माग रहेको बताए। यो समयमा निर्वाचन र सरकार गठन जस्ता कारणले आन्दोलनका कार्यक्रम गर्न नपाएकोले अब चाँडै संघर्षका कार्यक्रम अघि बढाउने जानकारी दिए । यता पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले प्रयोगमा नआएपछि भौतिक संरचनाहरु जीर्ण बन्ने जोखीम बढेको बताए । भवनहरुको रंग खुइलिन थालिसकेको र भित्तामा जालोहरु लागिसकेको उनले भने। गेटा मेडिकल कलेज सञ्चालनका लागि पूर्वाधार निर्माण विकास समितिले २९ वटा संरचना बनाएको छ भने २३ वटा निर्माणाधीन छन्। तीमध्ये १२ वटा संरचनाको काम आगामी असारमा सम्पन्न हुने पूर्वाधार विकास समितिले जनाएको छ।
यी संरचना निर्माण गर्दा सरकारको ५ अर्ब ४० करोड रुपैयाँ खर्च भइसकेको बताइएको छ। यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा कार्यरत डा प्रमोद जोशीलाई गेटा मेडिकल कलेजको अस्पताल निर्देशकका रुपमा खटाइएको भएपनि हालसम्म अस्पताल सञ्चालनमा ठोस प्रगति हुनसकेको छैन।शिक्षण अस्पताल स्थापना तथा सञ्चालन गर्ने भनिएपनी भौतिक पूर्वाधार राम्रो भए पनि जनशक्ति र उपकरण नभएको डाक्टर जोशीले बताए । उनले पहिलो चरणमा २०० शय्याको अस्पताल सञ्चालन गर्ने योजना भएपनी आवश्यक पर्ने जनशक्ति र स्वास्थ्य उपकरणको व्यवस्थापनमा लागेको बताए। अस्थायी दरबन्दी स्वीकृतिका लागि प्रक्रिया अघि बढेको छ उनले भने । सरकारले गेटा मेडिकल कलेजमा शिक्षण अस्पताल सञ्चालनका लागि चालु आर्थिक वर्षमा ४५ करोड बजेट पठाएको र कार्य योजना बनाएर हुने उनले बताए।
यस्तै मोडालिटीको अन्योल कायमै रहेको छ । कानुन बनेमा पदाधिकारी नियुक्त भएर मेडिकल कलेज सञ्चालनको प्रक्रियामा जाने बाटो खुल्ने थियो। त्यसो भए कम्तीमा पनि डेढ वर्षभित्र मेडिकल कलेज सञ्चालनमा आउने अपेक्षा गरिएको थियो । गेटा मेडिकल कलेजलाई मेडिकल विश्वविद्यालय बनाउने वा स्वास्थ्य विज्ञान प्रतिष्ठान भन्नेमा विवाद कायमै रहेको हो। यसलाई सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत राखेर स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनुपर्ने आवाज समेत उठेको छ । तर अहिलेसम्म मेडिकल कलेज कुन प्रारुपमा सञ्चालन हुने हो भन्ने कुराको टुंगो लागेको नलागेको बताइएको छ। पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले अघिल्लो सरकारले दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान नाममा गेटामा मेडिकल कलेज सञ्चालन गर्न विधेयक मस्यौदा गरेको छ। तर शिक्षा मन्त्रालयले मस्यौदा गरेको विधेयक अघि नबढेको उनको भनाई छ। उनले त्यसपछि त्यो विधेयक क्याबिनेटमा गएर पास हुनुपर्ने भएपनि अहिलेसम्म त्यो काम अघि नबढेको उनले बताए।