धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले माघ २५ गते विस्वासको मत लिने तयारी गरेका छन्। मुख्यमन्त्री रावलले विश्वासको मतका विषयमा आन्तरिक छलफल सुरु गरेका नेताहरुले जनाएका छन्।मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने भएपछि सभामुख भीम भण्डारीले माघ २५ गते बिहान ११ बजेका लागि प्रदेश सभाको बैठक बस्नेगरी तयारी गरेका छन्।
त्यसकारण उनी विश्वासको मत लिने समय नजिकिँदै गर्दा राजधानी काठमाण्डौँ पुगेका हुन्। उनीनिकट स्रोतका अनुसार यही साता उनले विश्वासको मत लिनेछ्न्। यसअघि पनि विश्वासको मतका लागि वातावरण बनाउन आग्रह गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरुलाई भेटेका रावलले फेरि शीर्ष नेताहरूसँग भेट गरिरहेको बताइएको छ। सुदूरपश्चिममा उनलाई एउटा मात्र पार्टी नागरिक उन्मुक्तिले अड्चन गरिरहेको छ।
मुख्यमन्त्री नियुक्त हुँदा समर्थन गरेको नागरिक उन्मुक्तिले विश्वासको मत दिने कुरामा अझै निर्णय गरिनसकेको हुनाले उनलाई सकस थपिएको हो।सत्ता गठबन्धनमा साझेदार रहेको दल नागरिक उन्मुक्तिले विश्वासको मत दिनेरनदिनेबारे अहिलेसम्म पनि आधिकारिक टुंगो लगाएको छैन। नागरिक उन्मुक्तिका प्रतिनिधिसभा सदस्य गङ्गाराम चौधरीले छ्लफल जारी रहेको जानकारी दिए। उनका अनुसार निर्णय हुन केही दिन कुर्नु पर्नेछ। पुस २७ गते, बुधबार मुख्यमन्त्री नियुक्त भएका रावल १ महिनाभित्रै विश्वासको मत लिइसक्नुपर्ने अवस्थामा छन्। सरकार गठनका बेला समर्थन जनाएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने वा नदिने भन्ने आशंकाका कारण रावलले विश्वासको मत लिने मिति धकेलिँदै आएको हो। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मतका लागि २७ सांसदको मत आवश्यक हुन्छ। मुख्यमन्त्रीमा दाबी पेस गर्दा रावललाई एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका १ गरी २९ सांसदको समर्थन रहेको थियो।