धनगढी : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ स्याउले बजारमा लागेको महायज्ञ सम्पन्न भएको छ । श्री समैजी विश्वनाथ महादेव शिव मन्दिर परिषरमा माघ १५ गतेदेखी आयोजना भएको महायज्ञ आज सम्पन्न भएको हो ।
सुदूरपश्चिम प्रदेशसभा सदस्य खेमा देवी बिष्टले महायज्ञको समापन गरेकी छन् । महायज्ञ समापन कार्यक्रममा बोल्दै बिष्टले हिन्दु राज्य स्थापना नहुँदासम्म गाई लाई सम्मान समेत नहुने बताइन् । छाडा रुपमा छोडिने गाइका कारण कयौँ दुर्घटना हुनुका साथै किसानको खेती समेत नस्ट भइरहेको बताउँदै उनले देशको सम्मानका लागीपनि गाइमाताको संरक्षण जरुरी रहेको दावी गरिन् ।
महायज्ञबाट उठेको रकमले गौशालाको जग शुरु गर्न आग्रह गर्दै बिष्टले आफु सम्बन्धित निकायबाट सहयोगका लागी सक्दो पहल गर्ने आश्वासन दिइन् । महायज्ञ आयोजक समितिका आर्थिक समिति संयोजक करन बोगटीले महायज्ञबाट करिब १३ लाख बराबर आर्थिक संकलन भएको बताए । महायज्ञ आयोजनामा भएको खर्च कटाएर बचेको रकमले गौशाला निर्माण गरिने उनले बताए । सुर्योदय सामुदायिक बनले जग्गा उपलब्ध गराउने बताउँदै उनले सहयोगका लागी अन्य निकायलाइपनि आग्रह गरिने बताए ।
महायज्ञ मुल आयोजक समितिका संयोजक तथा स्याउले बजार ब्यवस्थापन समिति कैलालीका अध्यक्ष गोपाल देउवाले मन्दिर स्तरोन्नती संगै गाई ब्यवस्थापनका लागी महायज्ञ आयोजना गरिएको बताए । दिनहुँ छोडिने गाइका कारण दुर्घटना संगै किसानको खेतीबाली त नस्ट भयोनै देशकै राष्ट्रिय जनावरको अपमान भएका कारण गौशाला सञ्चालन गर्न महायज्ञ आयोजना गरिएको देउवाले बताए ।