काठमाण्डौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ‘विशेष पत्रकार सम्मेलन’ गर्न लागेका छन्। आइतबार पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकपछि उनले विशेष पत्रकार सम्मेलन गर्न लागेका हुन्। ‘पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ।
त्यस लगत्तै पार्टी कार्यालय बाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु’, लामिछानेले सामाजिक सञ्जालमार्फत भनेका छन् । उनले सिङ्गो देश र विदेशमा रहने सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन् भन्ने आफूले चाहेको पनि बताएका छन् । उनले भनेका छन्, ‘सिधाकुरा नगरेको धेरै भएछ।’राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बिहान साढे ११ बजेपछि पार्टी कार्यालयमा बस्दैछ । बैठकले सरकारमा रहने कि नरहने भन्नेबारे निर्णय लिने बताइएको छ। यसअघि शनिबार बसेको बैठक निष्कर्षविहीन बन्दै आजका लागि सारिएको थियो। रास्वपाले गृह मन्त्रालयमा दाबी गर्दै आएको छ भने त्यो दिन प्रधानमन्त्री सकारात्मक नभएपछि सो पार्टी असन्तुष्ट भएको छ।

