काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्णायक भनिएको बैठक आइतबार बस्दैछ। गत बिहीबारको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई गृह मन्त्रालयबारे निर्णय गर्न दुई दिनको समय दिएकोमा शनिबार राति बसेको रास्वपा बैठक पनि निष्कर्षविहिन बनेको हो ।
शनिबार कुनै निर्णय हुन नसकेपछि रास्वपा बैठक आइतबार बिहान ११ बजे पुनः बस्दैछ। पार्टी सभापति रवि लामिछानेको नागरिकता अवैध ठहर भएसँगै रास्वपाले उपप्रधान एवं गृहमन्त्री पद गुमाएको थियो ।लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता पुनः प्राप्त गरेपछि गृह मन्त्रालय आफैंले पाउनुपर्ने दावी गरिरहुनभएको छ। प्रधानमन्त्री प्रचण्डले रास्वपालाई गृहको सट्टा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लिन आग्रह गर्नुभएको छ । गृहको सट्टामा अर्को मन्त्रालय लिएर सरकारमा रहने कि बाहिरिने भन्ने विषयमा आइतबारको बैठकले निर्णय लिनसक्ने बताइएको छ ।