धनगढी। कैलालीका ३० प्रहरीको जिम्मेवारी खोसिएको छ। कैलाली कारागारका प्रहरी प्रमुखसहितका ३० जना प्रहरी कर्मचारीको जिम्मेवारी खोसिएको कैलाली प्रशासनले बताएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले भने नियमित प्रक्रिया अन्तरगत सुरक्षाकर्मी फिर्ता बोलाइएको बताए।
कारागारभित्र लागुऔषधको कारोबार हुने गरेको गुनासो बढेपछि प्रहरीतर्फका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक बासुदेव अवस्थीसहितका ३० जना प्रहरीलाई फिर्ता बोलाउदै उनीहरुका ठाउँमा नयाँ पठाइएको छ।प्रहरी वरिष्ठ नायब निरीक्षक चरन बुढाथापालाई कारागारको सुरक्षा प्रमुखका रुपमा खटाइएको डीएसपी जोशीले जानकारी दिए। कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीका अनुसार कारागारको सुरक्षार्थ खटिएको प्रहरी कर्मचारीको जिम्मेवारी खोसेर नयाँ पठाइएको जानकारी दिए। उनकाअनुसार जेलर नरबहादुर थापाको जिम्मेवारी खोसेर अर्को व्यक्तिलाई पठाउने प्रक्रिया पनि अघि बढेको बताए।
जोशीकाअनुसार जेलर थापाको ठाउँमा अर्को व्यक्ति पठाउन प्रशासनले गृह मन्त्रालयलाई पत्राचार गरिसकेको छ। कारागारभित्र लागुऔषधको कारोबार हुने गरेको गुनासो बढेपछि प्रहरीतर्फका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक बासुदेव अवस्थीसहितका प्रहरीलाई फिर्ता बोलाइएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। उनीहरुको ठाउँमा बिहीबार नै नयाँ प्रहरी कर्मचारी पठाइएको छ। गत कात्तिकमा लागुऔषध ओसारपसारमा संलग्न भएको आरोपमा कैलाली कारागारमा कार्यरत प्रहरी सहायक हवलदार अपिल भाटलाई पक्राउ गरेको थियो। भाट अहिले पुर्पक्षका लागि कारागार चलान भइसकेका छन्। तर स्थानीय प्रशासनले भने कारागारमा जेलरकै संलग्नतामा लागुऔषधको कारोबार हुने गरेको गुनासोपछि कारागारालाई व्यवस्थित बनाउन जिम्मेवारी हेरफेर गरिएको बताएको छ। जिल्ला प्रहरी कार्यालय लागुऔषध कारोबार र सेवन सम्बन्धीको प्रकरण पूरानै भएको बताउदै अहिले नियमित कार्यतालिकाअनुसार सुरक्षाकर्मी हेरफेर गरेको बताइएको छ।