धनगढी : धनगढीमा एकजना बिद्यालयका शिक्षकले कार्यालय सहयोगीको रकम खाएको खुलेको छ । धनगढी उप महानगरपालिका वडा नम्बर ११ मा रहेको जोकैया आधारभुत बिद्यालयमा कार्यरत सहयोगीको तलव शिक्षकले खाएको फेला परेको हो । संघिय सरकारको अनुदानमा धनगढी उप महानगरपालिकाले मासिक १५ हजार कार्यालय सहयोगीका लागी रकम निकासा गर्ने गरेको छ । तर बिद्यालयले कार्यालय सहयोगीलाई मासिक ३ हजार मात्रै दिइरहेको खुलेको छ ।
कक्षा ३ सम्म पठनपाठन हुने गरेको जोकैया आधारभुत बिद्यालयमा कार्यरत कार्यालय सहयोगी चम्फी चौधरीले मासिक १५ हजार रकम गत बर्षदेखीनै पाउनुपर्ने भएपनि बिद्यालयले मासिक ३ मात्रै दिने गरेको खुलेको छ । बिद्यालयले बाँकी १२ हजार रकम निजि श्रोतका शिक्षकहरुलाई दिने गरेको जनाएको छ । सो बिद्यालयमा चार शिक्षक र एकजना कार्यालय सहयोगी छन्, शुन्य दरबन्दी रहेको बिद्यालयमा बालबिकास शिक्षक र कार्यालय सहयोगीका लागी मासिक ३२ हजार रकम उप महानगरले उपलब्ध गराउँदै आएको छ । बालबिकास शिक्षकले पुरै तलव पाएपनि कार्यालय सहयोकी चम्फीले ३ हजार मात्रै पाएको बताएकि छिन् । अन्य स्कुलका कार्यालय सहयोगीले १५ हजार तलव पाएपनि आफुले ३ हजार मात्रै पाएको भन्दै चौधरीले गुनासो गरिन् ।
कार्यालय सहयोगी चौधरीलाई यो वर्ष आउने अनुदानबाट बाँकी तलब दिने सहमतिमा शिक्षकहरूलाई कार्यालय सहयोगीको तलबबाट पैसा दिएको प्रधानाध्यापक शाहले बताए। ‘हामीसँग विद्यालयको आम्दानीको स्रोत छैन, गत वर्ष अनुदान पनि पाएनौँ, त्यसैले कार्यालय सहयोगीले पाउने रकमबाट शिक्षकहरूलाई तलब दिइएको हो,’ उनले भने, ‘यो वर्ष प्राप्त हुने रकमबाट फिर्ता गर्छौँ।’

