कञ्चनपुर। नेपाल विद्यार्थी संघ कञ्चनपुरका नेता–कार्यकर्ताले नेपाली काँग्रेसको पार्टी कार्यालय कञ्चनपुरमा तालाबन्दी गरेका छन्। बुधबार दिउँसो नेपाल विद्यार्थी संघ कञ्चनपुरका नेता कार्यकर्ताले कांग्रेस पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन्।
नेविसंघ केन्द्रीय समितिले जिल्ला अध्यक्ष छनोटको विषयलाई लिएर उनीहरूले विरोध गर्दै तालाबन्दी गरेका छन्। नेविसंघ कञ्चनपुरका नेता कृष्ण पाण्डेले विधानविपरीत नेविसंघ केन्द्रीय समितिले कञ्चनपुरको जिल्ला अध्यक्ष नियुक्त गरेको विरोधमा सांकेतिक रूपमा पार्टी कार्यालयमा तालाबन्दी गरिएको बताए।
उनले पार्टी कार्यालयमा पार्टीका नेता र संगठनका नेतालाई सचेत गराउन तालाबन्दी गरेको बताए। निर्णय नसच्याए फेरि आन्दोलन गर्ने उनले चेतावनी दिएका छन् । उनीहरूले पार्टी कार्यालयमा तालाबन्दी गर्दै टायर जलाएर विरोध प्रदर्शनसमेत गरेका थिए। माघ १३ मा नेविसंघ केन्द्रीय समितिले रमेश चटौतलाई जिल्ला अध्यक्षमा चयन गरेको थियो। नेपाल विद्यार्थी संघ केन्द्रिय कार्य समितिले कञ्चनपुरको अध्यक्षको जिम्मेवारी चटौतलाई दिएको हो।