काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको सर्वोच्च अदालतबाट फैसलाको पूर्ण पाठ नआएसम्म गृह मन्त्रालयको नेतृत्वबारे निर्णय नगर्ने बताएका छन् । मंगलबार पार्टीको स्थायी कमिटी बैठकमा उनले गृह मन्त्रालयबारे तत्काल निर्णय नगर्ने जानकारी गराएका हुन्।



उपाध्यक्ष कृष्णबहादुर महराले भने, ‘अदालतको फैसलाको पूर्णपाठ नआउँदासम्म गृह मन्त्रालयबारे निर्णय हुँदैन, प्रधानमन्त्रीसँगै रहन्छ ।’ यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गृहमन्त्री बनाउन चर्को दबाब आएको बताएका छन् । माओवादी केन्द्रको मंगलबार बसेको पदाधिकारी बैठकमा नेताहरुलाई ब्रिफिङ गर्दै प्रचण्डले गैरसांसदको रुपमा लामिछानेलाई गृहमन्त्री बनाउन सबैतिरबाट दबाब आएको बताएका हुन्।
रवि लामिछानेले अमेरिकी नागरकता त्यागेपछि नेपाली नागरिकता लिन प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरिदिएको थियो । त्यसपछि उनी उपप्रधानमन्त्री तथा गृहमन्त्रीबाट पदमुक्त भएका थिए। गत आइतबार नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि रविले गृह मन्त्रालय आफैंले पाउनुपर्ने अडान राखिरहेका छन् । तर प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय आफैंसँग राखिरहेका छन् ।
