धनगढी। धनगढीमा कपडा उद्योगबाट लागुऔषधसहित ४ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मंगलवार बिहान धनगढी उपमहानगरपालिका ३ चटकपुरस्थित गौरीशंकर अल्लो कपडा उद्योगबाट ११ केजी ९०० ग्राम लागुऔषधसहित ४ जनालाई पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी बेद प्रकाश जोशीले दार्चुलाको नौँगाड गाउँपालिका २ स्थायी घर भएका उद्योगका संचालक ३४ वर्षीय नरेन्द्रसिंह धामीले संचालन गरेको उद्योगबाट लागुऔषध बरामद गरिएको बताए।
प्रहरीे टोलीले उद्योग संचालक धामीसहित दार्चुलाको नौँगाड २ का २० वर्षीय रुकुमसिंह धामी, बझाङ्ग केदारस्यु ७ का ४२ वर्षीय धनबहादुर धामी र बाजुराको स्वामीकार्तिक २ घर भई कैलालीको बर्दगोरिया ४ बस्ने ३५ वर्षीय धनलाल कामीलाई पक्राउ गरेको हो। उनीहरुको साथबाट १ थान डिजिटल काँटा पनि नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ। डिएसपी बेद प्रकाश जोशीले पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।