काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारबाट प्रधानमन्त्री प्रचण्डलाई भेटेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फर्किएका छन्। सभापति लामिछानेले आफूलाई गृह मन्त्रालयमा फर्काउन आग्रह गरेको बुझिएको तर, प्रचण्ड भने लामिछानेलाई गृह मन्त्रीमा फर्काउन सकारात्मक नदिएको बताइएको छ।
प्रधानमन्त्रीले रविजीको विषयमा महान्यायाधिवक्ता, कानुनविद्हरुसँग परामर्श गर्नुभयो नागरिकताको केश सुल्झिएपनि पासपोर्टको केशले गाह्रो बनाउँछ। यस्तो अवस्थामा उहाँलाई गृह मन्त्रालयको जिम्मेवारीमा फर्काउँदा सरकारलाई र रविजीलाई समेत राम्रो गर्दैन भन्ने बुझाइ छु प्रधानमन्त्रीको सचिवालय स्रोतले भन्यो, प्रधानमन्त्रीज्यू उहाँको सबै विषय नसुल्झिएसम्म फर्काउन सकारात्मक हुनुहुन्न ।
उहाँ भने पुरानै जिम्मेवारीमा फर्किन आतुर देखिनुहुन्छ। लामिछानेले एमाले अध्यक्ष केपी शर्मा ओलीमार्फत समेत गृहमन्त्रीमा फर्काउन लागि प्रधानमन्त्रीलाई दवाव दिएको बताइएको छ। पार्टी सभापति रवि लामिछाने आइतबार र मंगलबार बिहान प्रधानमन्त्रीलाई भेटेका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री प्राप्त गर्ने निर्णय प्रधानमन्त्रीले गरेपछि मात्रै आफ्नो दलमा कसलाई पठाउने भनेर छलफल हुने पार्टी महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले बताए । ‘गृहमन्त्री रास्वपाले पाइसकेको विषय हो ।
गृहमन्त्रीको नाम पठाउनुस् भनिसकेको स्थिति पनि छैन,’ ढकालले भने, ‘प्रधानमन्त्रीले हामीलाई गृहमन्त्री दिने भनेपछि व्यक्ति निर्णय गर्छौं ।’गृहमन्त्री आफ्नो दलले प्राप्त गर्ने प्रधानमन्त्रीले निर्णय लिएपछि मात्रै सांसद वा गैरसांसद कसलाई पठाउने पार्टीभित्र छलफल गरिने ढकालले बताए । ‘पार्टी सभापतिको नेतृत्वमा सरकारमा नजाँदा घाटाहरु पनि देखिन्छन् । सभापति नै गृहमन्त्रीमा जाँदा पनि केही घाटाहरु छन्,’ ढकालले भने, ‘घाटारफाइदा तौलेर र के गर्दा ठिक हुन्छ, क्याल्कुलेसन गरेर निर्णय गर्छौं ।’ आज नै पुनः प्रधानमन्त्रीसँग छलफल हुनसक्ने उनले बताए । नागरिकता सम्बन्धी विवादका कारण रविले उपप्रधानमन्त्री तथा गृहमन्त्री पद गुमाएपछि नेकपा माओवादी केन्द्रले गृह मन्त्रालय आफैंसँग राख्न खोजेको छ ।
तर प्रधानमन्त्री प्रचण्डमाथि सत्ता साझेदार दल नेकपा एमाले र रास्वपाबाट गृह मन्त्रालय पुनः रास्वपालाई नै दिनुपर्ने दबाव छ। माओवादी केन्द्रका एक नेताले भने, ‘हामी गृह मन्त्रालय आफैंसँग राख्न चाहान्छौं तर हामीमाथि तीव्र दबाव छ ।’प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले भने सरकार गठनको बेला हतारमा गृह मन्त्रालय रास्वपालाई दिनुपरेको भन्दै अब सत्ता साझेदार दलहरुसँग छलफल गरेर उपयुक्त निर्णय लिने बताएका छन्।रविले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्च अदालतले शुक्रबार उनको सांसद पद खारेज गरेको थियो। त्यससँगै उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री पद गुमाएका थिए। गत आइतबार उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता लिएका थिए।