डडेल्धुरा। डडेल्धुरामा एकै नम्बरबाट तीन जनालाई नागरिकता प्रमाणपत्र जारी भएको भेटिएको छ। जिल्ला प्रशासन कार्यालय डडेल्धुराले फरक–फरक मितिमा ७४१००८÷२७३ नम्बरका नागरिकता प्रमाणपत्रहरु छुट्टाछुट्टै व्यक्तिका नाममा जारी गरेको फेला परेको भेटिएको हो।
देशभर रवि लामिछानेको नागरिकता प्रकरण चर्चामा रहेका बेला डडेल्धुरामा एकै नम्बरबाट तीनवटा नागरिकता प्रमाणपत्र जारी भएको भेटिएपछि समाजिक सञ्जालमा चर्को आलोचना भैरहेको छ। नागरिकता प्रमाणपत्रको प्रतिलिपीअनुसार रमेशबहादुर माली, हिक्मतबहादुर माली र दानबहादुर भुलको नाममा ७४१००८/२७३ नम्बरका नागरिकता प्रमाणपत्रहरु फरक–फरक मितिमा जारी भएको देखिएको छ। जिल्ला प्रशासन कार्यालय डडेल्धुराले २०६६ असार २९ गते सबैभन्दा पहिले साबिक गणेशपुर गाविस–२ का रमेशबहादुर मालीको नाममा उक्त नम्बरमा नागरिकता प्रमाणपत्र जारी गरेको थियो।
ती नागरिकता प्रमाणपत्र जारी गर्दा डडेल्धुरामा परशुराम अर्याल प्रमुख जिल्ला अधिकारी थिए। रमेशले २०७१ पुस २० गते लिएको नागरिकता प्रमाणपत्रको प्रतिलिपीमा तत्कालीन प्रमुख जिल्ला अधिकारी शिवराज जोशीको हस्ताक्षर रहेको छ। जिल्ला प्रशासन कार्यालय डडेल्धुराले त्यही नम्बरमा २०६७ मा रमेशकै नातामा भतिजा पर्ने हिक्मतबहादुर मालीको नाममा जारी गरेको पाइएको छ। हिक्मतको नागरिकता प्रमाणपत्रको प्रतिलिपीमा जारी मितिमा महिना प्रष्ट नदेखिए पनि वैशाखदेखि पुसमध्ये कुनै एकमा जारी भएको देखिन्छ। महिनाको स्थानमा शून्य लेखिएको प्रष्ट देखिए पनि त्यसपछिको अंक प्रष्ट छैन। उक्त नागरिकता प्रमाणपत्र जारी गर्दा डडेल्धुरामा प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने थिए।
हिक्मतले २०७४ फागुन ९ गते तत्कालीन प्रमुख जिल्ला अधिकारी जनकराज भट्टको हस्ताक्षरयुक्त नागरिकता प्रमाणपत्रको प्रतिलिपी लिएको देखिन्छ। जिल्ला प्रशसन कार्यालयले २०६७ चैत्र १५ गते साविक कैलपालमाण्डौं गाविस–४ का दानबहादुर भुलको नाममा त्यही नम्बरको नागरिकता प्रमाणपत्र तेस्रो पटक जारी गरेको छ। उक्त नागरिकता प्रमाणपत्र जारी हुँदा पनि डडेल्धुराका प्रमुख जिल्ला अधिकारी लामिछाने नै थिए। दानबहादुरले २०७५ वैशाख २७ गते डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी करुणकर अवस्थीद्वारा प्रमाणित नागकिरता प्रमाणपत्रको प्रतिलिपी लिएको देखिएको छ। आफ्नो नागरिकता प्रमाणपत्र नम्बरसँग मेल खाने अन्य दुई नागरिकता फेला परेपछि रमेशले तीनवटै नागरिता प्रमाणपत्रका तस्बिरहरु सामाजिक सञ्जाल फेसबुकमा राखेका छन्।
तस्बिरसँगै उनले लेखेका छन्, ‘यो देशमा कस्ता कर्मचारी छन् भने मेरो नागरिकतासँग मिल्ने तीन नागरिकता नम्बर मैले भेटाएको छु। अरु त कति छन् कतिरु यसको उत्तर कसले दिने ? ७४१००८/२७३ नगरिता नं अरु कसैको छ भन्ने म्यासेज पाऊँ। अनुगमन गर्ने प्रशासनको त यस्तो लापरवाही छ भने अरुको कस्तो होला ?’रमेशले आफ्नो नागरिकता प्रमाणपत्र नम्बरसँग मिल्दोे नम्बरमा जारी भएका नागरिकता प्रमाणपत्र कसरी फेला परे त ? ‘गाउँमा कृषि सहकारीको कार्यसमिति गठन गर्दा नागरिकता नम्बर सोधेँ। भतिजाको त मेरै नम्बर भन्छ,’ उनले ‘नागरिकता देखाऊ भन्दा उनको र मेरो नागरिकताको नम्बर एउटै, अचम्मै परेँ।’रमेशले अर्को नागरिकता प्रमाणपत्र साथीमार्फत् पाएको जानकारी दिए। ‘अशोककुमार कार्की भन्ने साथी र मेरो नागरिकताको नम्बर सँगसँगै रहेको उसलाई मेरो नम्बर थाहा रहेको उनले बताए। साथीले गृह मन्त्रालयअन्तर्गत कुनै कार्यक्रमबाट दलितहरुको तथ्यांक संकलनका क्रममा मेरो नम्बरसँग जुध्ने नागकिरता देखेपछि मलाई खबर गरेको उनले बताए ।रमेशले आफूले एउटै नागरिकता प्रमाणपत्र नम्बर भएका तीन नागरिकता फेला परेपछि स्थानीय प्रशासनमा मौखिक जारी दिँदा वास्ता नगरिएको गुनासो पनि गरेका छन्। नागरिताबारे मैले प्रशासनको नागरिकता फाँटमा भनेपनी चाँसो नदेखाएको उनले बताए।