कञ्चनपुर। कञ्चनपुरको महेन्द्रनगरमा कवाड संकलन केन्द्रमा विष्फोट भएको छ। कञ्चनपुरको महेन्द्रनगरस्थीत भीमदत्त नगरपालिका–६ मा कवाड संकलन केन्द्रमा बिस्फोट हुँदा २ जना गम्भीर घाइते भएका प्रहरीले बताएको छ। गम्भीर घाइते भएका एक जना भारतीय नागरिकलाई बरेली रिफर गरिएको वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए।
आईतबार राति ८ बजे सानो सिलिण्डर जस्तो देखिने बस्तु विष्फोट भएको थियो। कबाड संकलन केन्द्र एक जना भारतीय नागरिकले सञ्चालन गर्दै आएका थिए । उनका अनुसार घाइते मध्ये बरेलीका दन्ते अन्सारीलाई रिफर गरिएको प्रहरीले बताएको छ। अन्सारीसँगै सामान्य घाइते भएका भारत पिलिभितका नितेश कुमार महाकाली प्रादेशिक अस्पतालमा उपचारपछि घर फर्किएका छन्। गम्भीर घाइते भएका अन्सारी आगो तापि रहेका बेला पड्किएको सिलिण्डर जस्तो देखिने वस्तु पट्किएको टुक्राले उनको अनुहारमा चोट लागेको कञ्चनपुर प्रहरीले बताएको छ ।