धनुषा। धनुषामा प्रहरी हिरासतको पर्खाल भत्काएर थुनुवा फरार भएका छन्। धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतको पर्खाल भत्काएर लागुऔषध, हातहतियार,अभद्र व्यवहारका ७ जना थुनुवामध्ये ६ जना थुनुवाहरु फरार हुन्।
पुरानो घरमा रहेको हिरासत कक्षको शौचालयको ढोका फोडेर ढोकाको बिड लिएर पर्खालबाट इँटा झिकेर बिहान ३ बजे थुनुवाहरु फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खडकाले बताए । थुनुवा फरार घटनाको छानविनकालागि समिति गठन गरिने र फरारहरुको खोजि गर्न विशेष टोली खटाइएको खडकाले बताए।
जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी हिरासतमा रहेका लागुऔषध मुद्दाका आरोपित विनोद कुमार शर्मा, सार्वजनिक अपराध मुद्दाका आरोपित अमित मण्डल, रोशन यादव, अभद्र व्यवहार मुद्दाका आरोपित हसिम सिंह, रोशन महतो र हातहतियार मुद्दा आरोपित रोशन महतो र शंकर सिंह पर्खाल भत्काएर फरार भएको जनाएको छ। हिरासतबाट फरार ६ जनालाई म्याद थप गराएर अनुसन्धानका लागि हिरासतमा राखिएको थयो। थुनुवा फरार भएपछि इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बेचन यादव विवादमा तानिएका छन्। लामो समय देखि इलाका प्रहरी कार्यालय महेन्द्र नगरको इन्चार्जमा रहेका यादव यसअघि पनि पटकपटक विवादमा तानिएका छन्। यादव यसअघि महिला प्रहरीलाई दुर्व्यवहार गर्दा विवादमा तानिएका थिए ।