नेकपा (एमाले) का नेता तथा पूर्व गृहमन्त्री डा. भीमबहादुर रावलले रवि लामिछानेको विरुद्धमा फैसला गरेर सर्वोच्च अदालतले बेथिती रोकेको बताएका छन् । सर्वोच्चको उत्प्रेषण आदेश लगत्तै उनले सामाजिक सञ्जाल ट्वीटमा लेख्दै सो कुरा बताएका हुन् ।
उनले दोहोरो नागरिकता प्रदान गर्ने कर्मचारीलाई समेत छानविन गरी कानुनअनुसार कारवाही हुनुपर्ने बताएका छन्। नागरिकता विवादबारे जानकारी हुँदाहुँदै निर्वाचन आयोगले उनलाई उम्मेदवार बनाएकोप्रति पनि डा. रावलले प्रश्न उठाएका छन् । उनले लेखेका छन्, “नागरिकताबारे गम्भीर प्रश्न जनता र अदालतमा उठेको व्यक्तिलाई उपप्रधान र गृहमन्त्री बनाउनका लागि भूमिका खेल्ने र निर्णय गर्नेहरुले नैतिक जिम्मेवारी लिनुपर्छ ।” लामिछानेको नागरिकता बदर भइसकेपछि कुन कुन नागरिकता कसरी प्राप्त गरे र त्यसमा कसकसको संलग्नता छ छानविन हुनुपर्ने उनले माग गरेका छन्।