अछाम। अछामको गैरिटाँडमा मृत भेटिएका नेपाली कांग्रेसका युवा नेता रेशम तिमिल्सेनाको हत्याका मुख्य आरोपित विवेक शाहीलाई अछाम जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ ।जिल्ला न्यायाधीश पीताम्बर शर्माको इजलासले शुक्रबार उक्त फैसला गरेको हो।
गत वर्षको कात्तिक २ गते गैरिटाँडबाट बेपत्ता भएको भनिएका तिमिल्सेनाको शव १४ दिनपछि मध्यपहाडी लोक मार्ग अन्तर्गत कमलबजार नगरपालिका ६ गैरिटाँड बजार नजिकै बाँसको झारीमा भेटिएको थियो।
अछामको कमलबजार नगरपालिका वडा नम्बर ५ कुईकाका ३४ वर्षीय रेशमराज तिमिल्सेना त्यस क्षेत्रको युवा अगुवाका साथै नेपाली कांग्रेसको पूर्व क्षेत्रीय कार्यसमिति सदस्य थिए। सामाजिक क्षेत्रमा सक्रिय रहेका तिमिल्सैना मृत भेटिएसँगै रेशमको हत्याको अनुसन्धानको माग गर्दै जिल्ला सदरमुकाम मंगलसैन, मध्यपहाडी लोक मार्ग, पूर्वी क्षेत्रका व्यापारिक केन्द्रहरूमा चक्काजाम र आन्दोलनसमेत गरिएको थियो।