काठमाडौँ। नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने निर्णय गरेको छ। पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले यस्तो निष्कर्ष निकालेको हो। बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले भने, ‘राष्ट्रपतिको विषयमा राष्ट्रिय सहमति कायम गर्नुपर्छ भन्नेमा धेरैले जोड दिनुभएको छ।
राष्ट्रिय सहमति भनेपछि कांग्रेस र एमाले कुनैको नाममा हुँदैन सबैको।’ उनले राष्ट्रिय सहमति गर्नुपर्छ भन्ने आफूहरूको मत भएकाले के हुन्छ हेर्न बाँकी रहेको बताए। एमालेसहितको सबै पार्टीहरूसँग आफूहरुले छलफल गर्ने बताए।शुक्रबार बैठकमा बोल्ने अधिकांश नेताहरूले राष्ट्रपतिमा राष्ट्रिय सहमतिका लागि पार्टीले पहल गर्नुपर्ने उल्लेख गरेका छन्। बिहीबारबाट पेरिसडाँडामा सुरु भएको बैठकमा शुक्रबार महरालाई पार्टी एकतासम्बन्धी, जनार्दन शर्माले संगठनसम्बन्धी र उपमहासचिव गिरिराजमणि पोखरेलले पार्टीको स्कुलिङसम्बन्धी प्रतिवेदन प्रस्ताव गरेका थिए।