धनगढी। कैलालीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। कैलालीको गोदावरी नगरपालिका-३ स्थित भित्री सडक खण्डमा बिहीबार साँझ सुपप्र ०१-००९ प २३०८ नम्बरको मोटरसाइकलले ठक्करबाट सोही ठाउँकी ४५ वर्षीया शारदा चन्दको मृत्यु भएको प्रहरीले जनाएको छ।
ठक्करबाट गम्भीर घाइते भएकी चन्दको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन्द्र पाण्डेले जानकारी दिएका छन् । चन्दलाई अत्तरियाको पद्मा अस्पतालले उपचार सम्भव नभएको भन्दै कोहलपुर रेफर गरेको थियो। दुर्घटनामा परेर मोटरसाइकल चालक गोदावरी नगरपालिका-३ बस्ने २४ वर्षीय सुरेन्द्र भण्डारीको अवस्था पनि गम्भीर छ। उनको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले सो घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको बताएका छन्।