धनगढी।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावल र नेकपा एमालेका नेता डाक्टर भीम रावलबीच एक्कासी जम्काभेट भएको छ। धनगढी विमानस्थलमा आज काठमाडौंबाट धनगढी आइपुगेका मुख्यमन्त्री रावल र काठमाडौं जान लागेका नेता रावलबीच जम्काभेट भएको हो।
विमानस्थलको विशिष्ट कक्षको भेटघाटमा नेकपा एमालेका नेता डा भीम रावलले मुख्यमन्त्री रावलसँग विश्वासको मतबारे जिज्ञासा राखेका थिए। रावलले मुख्यमन्त्रीसँग भने, तपाई विश्वासको मत कहिले लिदैहुनुहुन्छ ? जवाफमा मुख्यमन्त्री रावलले भने, गठबन्धनमा आवद्ध दलहरुसँगको छलफलपछि विश्वास मत लिन्छु, भर्खरै काठमाण्डौँबाट पुग्दैछु उनले भने ।
यस्तै अछाम पुगेर जहाज मार्फत काठमाडौँ फर्किरहेका रावलले मुख्यमन्त्रीसँग आफ्नो जिल्लाका समस्याका बारेमा समेत कुराकानी गरेका छन्। उनले भने, ‘गत वर्ष अछाममा बाढी पहिरोले ठूलो क्षति भएको छ। प्रभावितहरुका लागि राहतका लागी प्रदेश सरकारबाट सहयोग गर्नुहोला उनले भने। नेता रावलले जिल्लामा भएको क्षतिबारे जानकारी गराउँदै अघिल्लो सरकारसँग राहतका लागि अनुरोध गरिएको थियो,‘तर अहिलेसम्म समस्या सामाधान गर्न पहल भएन, तपाईं अहिले मुख्यमन्त्री हुनुभएको छ प्राथमिकता दिनुहोला, उनले भने।
जवाफमा मुख्यमन्त्री रावलले बुझेर आवश्यक पहलकदमी लिने वचन दिएका छन्। मुख्यमन्त्री रावललाई विश्वासको मत लिन नागरिक उन्मुक्तीले असहमती जनाएपछि मुख्यमन्त्री सहितका नेताहरु काठमाडौं गएका थिए। काठमाडौंमा रहँदा नागरिक उन्मुक्ति पार्टी र माओवादी केन्द्रका प्रदेशसभा सदस्यसहित रावलले गठबन्धनका शिर्ष नेताहरुबीच भेटघाट गरेका थिए। उनी करिव एक हप्तापछि सुदुरपश्चिम फर्केका हुन्। यसअघि माघ ११ गते बिश्वासको मत लिने भनिएपनी सो दिन प्रदेश सभाको बैठक भएपछि मुख्यमन्त्री रावलले विश्वासको मत लिन बाँकी छ। नेकपा एमालेबाट २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका रावलले विश्वासको मत लिन बाँकी छ । उनी नागरिक उन्मुक्ति पार्टीलाई समेत सरकारमा सहभागी गराएर विश्वासको मत लिने पक्षमा छन्। सुदूरपश्चिम प्रदेशमा ५३ जना प्रदेश सभा सदस्य रहेका छन् । यहाँ माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ मत छन्। यता कांग्रेस गठबन्धनमा कांग्रेसका १९, नेकपा एकीकृत समाजवादीका ४ र स्वतन्त्र १ सांसद रहेका छन्।