काठमाडौं। घनश्याम भूसाललाई महासचिव बनाउने नेकपा एसले तयारी गरेको छ। नेकपा एकीकृत समाजवादीले हालै पार्टी प्रवेश गरेका नेता घनश्याम भूसाललाई महासचिवको जिम्मेवारी दिने भएको हो। एकीकृत समाजवादीका एक पदाधिकारीका अनुसार हालका महासचिव बेदुराम भुसाललाई उपाध्यक्ष बनाएर भूसाललाई महासचिव बनाउन लागिएको हो।
यसको औपचारिक निर्णय भने २१–२२ माघमा बोलाइएको केन्द्रीय कमिटी बैठकबाट हुने छ।चुनावअघि एमाले त्यागेका भूसाल २९ पुसमा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए। यसैबीच नेता बामदेव गौतमलाई पनि पार्टीमा भित्र्याउने प्रयास एकीकृत समाजवादीले गरेको छ। गौतमले यसबारे एकीकृत समावादीका अध्यक्ष माधवकुमार नेपाल लगायतसँग औपचारिक–अनौपचारिक संवाद गरिरहेका छन्।
गौतमले केही सैद्धान्तिक विषयमा आफ्नो व्याख्या गर्दै दस्तावेज एकीकृत समाजवादीलाई बुझाएका छन्।आफू एमाले नजाने र आफ्ना कुरा सम्बोधन भए एकीकृत समाजवादीमै आउने बचन गौतमले दिएको एक नेताले जानकारी दिए। गौतम पार्टीमा आए उनलाई बरिष्ठ उपाध्यक्ष पद दिने तयारी एकीकृत समाजवादीको छ। गौतम तत्कालीन नेपाल कम्युनिष्ट पार्टीमा पनि वरिष्ठ उपाध्यक्ष थिए।