धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले बसन्त पञ्चमी तथा सरस्वती पूजाको शुभकामना व्यक्त गर्दै बाल विकासदेखि बिद्यालय हूँदै विश्वविद्यालयसम्म शैक्षिक सुधार आवश्यक रहेको बताएका छन्।
मुख्यमन्त्री रावलले वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सो कुरा बताएका छन्। उनले प्रारम्भिक बाल विकास तहदेखि विद्यालय हुँदै विश्वविद्यालयसम्म शैक्षिक सुधार आवश्यक रहेको औल्याए । सरस्वती पूजाको सबैभन्दा ठूलो सन्देश बाल्यावस्थादेखि नै शिक्षालाई विशेष जोड दिनु रहेको बताउँदै मुख्यमन्त्री रावलले विद्याले व्यक्तिको अन्तर्निहित क्षमता अभिवृद्धि गर्ने बताए।
विद्या, बुद्धि, कला र संगीतको उन्नयनसंग गाँसिएको मौलिक पर्वका रूपमा मनाइने वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा शुभकामना व्यक्त गरे। ‘वसन्त पञ्चमीले एकातिर ज्ञानमा अन्तर्निहित शक्तिको पहिचान गरी त्यसलाई उत्सवमय बनाउँछ भने अर्कोतिर मानव जातिलाई असल र खराब छुट्याई असल कुरालाई ग्रहण गर्न उत्प्रेरित गर्दछ’ शुभकामना सन्देशमा भनीएको छ ‘सरस्वती पूजाको सबैभन्दा ठूलो सन्देश बाल्यावस्थादेखि नै शिक्षालाई विशेष जोड दिनु हो । विद्याले व्यक्तिको क्षमता अभिवृद्धि गर्छ।
त्यसैले आजको दिन वालवालिकालाई अक्षारम्भ गराउदा दिगो शिक्षा प्राप्त हुने विश्वास छ ।’प्राध्यापक तथा शिक्षकहरूको सीप अभिवृद्धि र वृत्तिविकास, जीवनोपयोगी शिक्षा नीतिको निर्माण तथा अनुसन्धानमुखी शिक्षाको माध्यमबाट नागरिकको चौतर्फी व्यक्तित्व विकासका लागि सरोकारावाला पक्ष एकजुट हुनु पर्नेमा उनले जोड दिए। उनले शुभकामना सन्देशमा वसन्त पञ्चमीसाई सरस्वती प्रकट भएको दिन मानेर विद्याकी देवीका रूपमा प्राचिन कालदेखि चलिआएको बताएका छन।