कैलाली। कैलालीमा एक पुरुषको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कैलालीको बर्दगोरिया गाउँपालिकामा उक्त शव सडेको अवस्थामा फेला परेको हो। प्रहरीका अनुसार बर्दगोरिया गाउँपालिकाका वडा नम्बर २ का ४१ वर्षीय सकै चौधरीको रहेको प्रहरीले जानकारी दिएको छ।



प्रहरीका अनुसार उनी माघ ३ गते देखी बेपत्ता थिए। उनको खोजीका लागी आफन्तले माघ ५ गते बौनियाँ प्रहरीमा निवेदन समेत दिएका थिए। बिहीबार बिहान उनको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। उनको मृत्युको कारण भने खुल्न सकेको छैन। मादक पदार्थ सेवन गर्ने र मानसिक सन्तुलन त्यति ठिक नभएको भनेर निवेदन आएको इलाका प्रहरी कार्यालय बौनियाँका प्रमुख प्रहरी निरीक्षक महेश विक्रम शाहले बताए। भने शरीरमा चोटपटक पनि नलागेको र शव पूर्ण रूपमा सडेको अवस्थामा रहेको उनको भनाई छ। मादक पदार्थ सेवनका कारण उनको मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ। यस विषयमा थप अनुसन्धान गरिरहेको र अहिले शव पोस्टमार्टमका लागी टिकापुर पठाइएको उनले बताएका छन्।
