महेन्द्रनगर। कञ्चनपुरका छुट्टाछुट्टै ठाउँबाट लागू औषध सहित चार जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भीमदत्त नगरपालिका–१७ मझगाउँबाट तीन र पुनर्वासबाट एक जना सहित चार जनालाई लागूऔषध सहित नियन्त्रणमा लिइएको जनाएको छ।
मझगाउँबाट भीमदत्त नगरपालिका–१८ का २१ वर्षीय आषिश छिनाल, २२ वर्षीय जीवन कार्की र अविशेक गुरुङ लागू औषध सहित प्रहरीले पक्राउ गरेको हो। गरुङले चलाइरहेको यूके ०६ वाइ ४०३२ नम्बरको भारतीय मोटरसाइकलमा उनीहरु महेन्द्रनगरतर्फ आइरहेका उनीहरुलाई शंका लागेर प्रहरीले खानतलासी गर्दा लागू औषध बरामद गरिएको थियो। मोटरसाइकलमा सवार छिनाल र कार्कीको साथबाट डाईजेफम-१९ सिसि, रेस्कोजेसिक-९६ सिसि, फेनारगन-९६ पिस गरेर जम्मा २११ पिस लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ।उनीहरुले उक्त लागूऔषध भारतबाट ल्याएको हुनसक्ने प्रहरीको आशंका छ।
यस्तै, पुनर्वास नगरपालिका-११ डोकेबजारबाट ६२ ग्राम अवैध लागूऔषध खैरो हिरोईन सहित भारत लखिमपुर खिरी तहशिल पलियाका १९ वर्षीय सानु अन्सारी पनि पक्राउ परेका छन्। उनी धनगढी उपमहानगरपालिका–१ मा डेरा गरेर बस्दै आएका थिए। प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी परासनबाट संयुक्त रुपमा खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आइरहेका उनलाई जाँच गर्दा साथबाट लागूऔषध बरामद गरिएको थियो। प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।