धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेशको समग्र विकासका लागि प्रदेश सभाले साझा थलोको रूपमा काम गर्ने गरेको बताएका छन् । प्रदेश सभा दिवसको अवसरमा शनिबार शुभकामना दिदै मुख्यमन्त्री रावलले प्रदेश सभाले सत्तापक्ष र प्रतिपक्ष सबैका लागि साझा थलोको रूपमा काम गर्ने गरेको बताएका हुन्।
दिवसको अवसरमा उनले प्रदेशवासी जनसमुदाय तथा देश र विदेशमा रहनु हुने सबैलाई शुभकामना व्यक्त गरेका छन्। २०७४ माघ ७ गते सुदूरपश्चिम प्रदेशको पहिलो प्रदेश सभाको स्थापना भएको थियो । प्रदेश सभाको कार्यकाल प्रारम्भ भएको ऐतिहासिक दिवस मनाइरहँदा सुदूरपश्चिम प्रदेशको स्थापना अभियानमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा अमूल्य योगदान दिने सबैप्रति मुख्यमन्त्री रावलले सम्मान प्रकट गरे । प्रदेश सभासद्को सर्वोच्च निकाय प्रदेश सभाले नीतिगत रूपमा प्रदेशमा आवश्यक कानुनको तर्जुमा गरी कानुनी प्रदेशको रूपमा प्रदेशलाई स्थापित गर्नेगरेको उनको भनाइ छ। प्रदेश सभाले प्रदेशमा सुशासनको प्रत्याभूति गराउने, प्रदेश सरकारलाई आवश्यक निर्देशन दिने, जनताका इच्छा आकाङ्क्षालाई पूरा गर्न सरकारसँग आवश्यक समन्वय गर्ने लगायतका कार्य गर्नेगरेको मुख्यमन्त्री रावलको ठम्याइ छ।
‘पार्टीगत सिद्धान्त र विषयगत प्राथमिकता फरक फरक भए तापनि सुदूरपश्चिम प्रदेशको दिगो एवम् सर्वाङ्गीण विकासका विषयमा नेतृत्वकर्मी, जनप्रतिनिधि, सेवाग्राही तथा सरोकारवालाहरू एकजुट भई हातेमालो गर्दै अगाडि बढ्नु समयको माग र प्रमुख आवश्यकता रहेको छ’ मुख्यमन्त्रीद्वारा जारी सन्देशमा उल्लेख छ। स्वदेशी तथा विदेशी लगानीलाई सुरक्षा र आकर्षणको प्रत्याभूति गर्ने मुख्यमन्त्रीको भनाइ छ । ‘गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, सुरक्षाजस्ता आधारभूत आवश्यकताको व्यवस्थालगायत प्रदेशको विविध सामाजिक, आर्थिक र भौतिक विकासका सबै प्राथमिक विषयमा प्रतिपक्ष दलहरूलाई समेत साथमा लिई सामाजिक न्यायमा आधारित लोककल्याणकारी प्रदेशको रूपमा सुदूरपश्चिम प्रदेशलाई स्थापित गर्ने प्रतिबद्धता जाहेर गर्दछु’ मुख्यमन्त्रीले भने ।व्यक्तव्यमा भनिएको छ, ‘पार्टीगत सिद्धान्त र बिषयगत प्राथमिकता फरक–फरक भएतापनि सुदूरपश्चिम प्रदेशको दिगो एवम सर्वाङ्गीण बिकासका बिषयमा सम्पूर्ण नेतृत्वकर्मी, जनप्रतिनिधीहरु, सेवाग्राही तथा सरोकारवालाहरु एकजुट भई हातेमालो गर्दै अगाडी बढ्नु समयको माग र प्रमुख आवस्यकता रहेको छ।’
वर्तमान सरकारले न्यूनतम साझा कार्यक्रमहरुको निर्माण गरी प्रदेशमा औद्यौगिकीकरण, रोजगारीका अवसरको सृजना, विकास निर्माण, सुशाशनको अनुभूति, स्वालम्बन तथा आत्मनिर्भर प्रदेशको स्थापना गर्न क्षमताले भ्याएसम्म काम गर्ने उनले प्रतिवद्धता जनाए। प्रदेश सरकारको मुख्यमन्त्रीको हैसियतले यस अभियानमा सम्पूर्ण जनसमुदाय, जनप्रतिनिधिको साथ र सहयोगको अपेक्षा गर्दै उनले यो कार्यकालमा प्रदेश सभाले ऐतिहासिक सफलता हासिल गर्नेमा आफू विश्वस्त रहेको बताए।साथै, पहिलो प्रदेश प्रमुख, पहिलो प्रदेश सभाका सभामुख, उपसभामुख, प्रदेश सभा सदस्यहरू, प्रदेश सभा सचिवालय, निवर्तमान सरकारसहित सबैमा मुख्यमन्त्री रावलले धन्यवाद ज्ञापन व्यक्त गरेका छन्। ‘प्रदेश सरकारको मुख्यमन्त्रीको हैसियतले यस अभियानमा सम्पूर्ण जनसमुदाय तथा जनप्रतिनिधीहरुको साथ र सहयोग रहने अपेक्षा गर्दै यो कार्यकालमा प्रदेश सभाले ऐतिहासिक सफलता हासिल गर्ने छ भन्ने कुरामा म विश्वस्त छु,’ मुख्यमन्त्री रावलले भनेका छन्।यस्तै स्थापना दिवसका अवसरमा धनगढीमा एक विशेष कार्यक्रम आयोजना गरिएको थियो। मुख्यमन्त्री रावल काठमाडौँमा भएकाले उक्त शुभकामना मन्तव्य सभामुख भीम भण्डारीले पढेर सुनाएका थिए।