वीरेन्द्रनगर। कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्राप्त गरेका छन्। उनले शुक्रबारको प्रदेशसभा बैठकबाट विश्वासको मत पाएका हुन्। संसद्मा शर्मालाई विश्वासको मत दिने सांसदको संख्या २५ थियो। नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका ९, राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्रका एकरएकजना सांसदले शर्माको पक्षमा मत हालेका छन्। उनको विपक्षमा १४ जना सांसदले मतदान गरेका थिए।
४० सदस्यीय प्रदेशसभामा शुक्रबार ३९ सांसद मतदानमा सहभागी भएका थिए। मुख्यमन्त्री शर्मा पुस २७ गते कर्णाली प्रदेशको तेस्रो मुख्यमन्त्रीका रुपमा नियुक्त भएका थिए । यसअघि कांग्रेसका जीवनबहादुर शाही र माओवादी केन्द्रका महेन्द्रबहादुर शाही कर्णालीको मुख्यमन्त्री बनिसकेका थिए । कर्णालीसँगै प्रदेश १, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी गरी ६ वटा प्रदेशका मुख्यमन्त्रीहरूले विश्वासको मत पाइसकेका छन् । सुदूरपश्चिममा भने विश्वासको मत लिने प्रक्रिया सुरु भएको छैन ।

