काठमाडौँ। उपसभामुखका लागि २ जनाको उम्मेदवारी परेको छ। उपसभामुख पदमा नेपाली काँग्रेसकी मुक्ताकुमारी यादव र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी इन्दिरा राना मगरले मनोनयन दर्ता गराएका हुन्।इन्दिरालाई सत्तारुढ दलको समर्थन छ।
उनको प्रस्तावकमा रास्वपाकै सोविता गौतम छिन् भने समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन छन्। मुक्ताकुमारीलाई भने सरकारमा नरहेका दलको समर्थन छ। उनको प्रस्तावकमा काँग्रेस नेता बद्री पाण्डे तथा समर्थकमा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ल छन्।
संसद् सचिवालयले उपसभामुखको मनोनयन दर्ता गर्ने समय आजका लागि तोकेको थियो। उपसभामुख चयनका लागि भोलि शनिवार दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्ने छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको काँग्रेसले सभामुख र उपसभामुखमा भने प्रतिस्पर्धा गरेको छ। यसअघि काँग्रेसले सभामुखमा ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाएको थियो। तर सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एमालेका देवराज घिमिरे सभामुख चयन भएका थिए।