दार्चुला। जिल्लाको मालिकार्जुन गाउँपालिका वडा न २ न्वालपानीकि एक महिलालाई सुत्केरी ब्यथा लाग्यो। सुत्केरी ब्यथा लागेपछि स्वास्थ्य संस्थासम्म पुर्याउन न त बाटो घाटो नै राम्रो छ नत स्टेचर नै गाउँ मा छ। बिहीबार रातीदेखि मालिकार्जुन गाउँपालिका- २ न्वालपानीकी ईन्नरा धामीलाई ब्यथा लागेको भए पनि उचित सामग्री नभएर स्वास्थ्य चौकी पुर्यान ढिला भयो।
सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्था लैजान गाउँमा स्ट्रेचरको खोजी हुन थाल्यो। तर, कहीँ पनि स्ट्रेचर भेटिएन। गर्भवति ती महिलालाई पिठ्युँमा बोकेर लैजाने अवस्था पनि थिएन। केही सीप नचलेपछि स्थानीयहरुले काठमा डोरी बेर्दै मान्छे अटाउने स्ट्रेचर निर्माण गरे। त्यसैमा राखेर धामीलाई वडा नम्बर २ कै भगवती स्वास्थ्य चौकी (बर्थिङ सेन्टर) ठिङ पुर्याइयो। ती महिलालाई स्ट्रेचर नभएर खाटको डोरीमा बोकेर स्वस्थ्य चौकी लगिएको मालिकार्जुन गाउँपालिका २ का स्थानीय प्रकाश सिंह धामीले बताए।
उनले गाउँमा सिंह दरबार आयो भनिए पनि मालिकार्जुन पालिकको अवस्था दयालाग्दो भएको बताए। गाउँ न्वालपानीमा कम्तिमा ७० परिवारको बस्ने तर उक्त बस्तीमा एउटा स्ट्रेचर समेत नभएको उनको भनाइ छ। देश संघीय प्रणालीमा गएपनि दुर्गमका जन्ताले भने कहैलै सुख भोग गर्न नपाएको गुनासो उनले गरे। सडक छैन, बिजुली छैन,पिउने पानी छैन। हजारौं समस्यासित दुर्गमका जनताले अकलमै ज्यान गुमाउनु परेको छ। यस्तो अवस्था आउँदासम्म मालिकार्जुन गाउँपालिकाको भने कुनै ध्यान गएको छैन, उनले भने। कोही बिरामी भइहाले पनि अस्पताल पुर्याउन जोखिम मोलेर घण्टौं हिडनुपर्छ।’