दार्चुला। दार्चुलाको त्रिदेशीय सीमाक्षेत्र व्यासको छाङरु गाउँ नजिकै कौवा क्षेत्रमा आगलागी भएको छ । पुस १४ गते भएको आगलागीबाट सयौं रुख जलेका छन् भने ज्याक्ति भन्ने स्थानमा रहेको नेपाल टेलिकमको लिंक टावर बन्द भएको छ । मोबाइल टावर कौवाक्षेत्रको वनमा नोक्सानी भएको उक्त आगलागीको कारण दुई हप्तासम्म खुलेको छैन।
हिमपात र अत्यधिक चिसोका कारण व्यासका स्थानीय वासिन्दा सदरमुकाम झरिसकेका छन् । स्थानीय वासिन्दा नभएको बेला भएको आगलागी कसले र किन ग¥यो भन्ने प्रश्न उठेको छ । अहिले व्यासको छाङरुमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली मात्र छ। सुरक्षाकर्मीको टोली व्यासमै रहेको बेला भएको आगलागीले व्यासका स्थानीयमा शंका उब्जिएको छ । छाङरु गाउँबाट ३ किलोमिटरको दूरीमा अवस्थित कौवाक्षेत्रको बसुन्धरा जंगलमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट केही रुख र झाडी जलेको छ भने टेलिकमको लिंक टावरमा पनि क्षति पुगेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
आगलागीको कारण भने खुल्न नसकेको प्रहरीको भनाइ छ । कौवाक्षेत्रमा भएको आगलागी भोलिपल्टै नियन्त्रणमा लिइएको छाङरुस्थित सशस्त्र प्रहरी बलको ५१ नम्बर गुल्मका गुल्मपति डिएसपी ईश्वरीदत्त भट्टले बताए । ‘आगलागी कसरी भयो भन्ने खुल्न सकेको छैन तर हामीले भोलिपल्ट नै आगलागी नियन्त्रण गरेका थियौँ उनले भने । आगलागी भएको कौवाक्षेत्र महाकाली किनारमा पर्दछ।आगलागीबाट सयौं रुख र वनक्षेत्रको झाडी जलेर नष्ट भएको छ । ज्याक्ती भन्नेस्थानमा रहेको लिंक टावरमा आगलागीबाट क्षति भएको टेलिकम दार्चुलाका प्रमुख कृष्णवहादुर गुरुङले बताए। ‘रेडियो लिंक सिष्टमले काम गरेको छैन, सोलार र व्याट्रीमा भने नोक्सानी भएको छैन’ उनले भने।
शुरुमा टेलिकमको टावरमा राखिएको सौर्य उर्जा प्रणालीमा विद्युत सर्ट हुँदा आगलागी भएको प्रहरी र सशस्त्र प्रहरीले जानकारी दिएको थियो । तर, यो आगलागी वनक्षेत्रमा भएको र टेलिकमको टावरसम्म वनक्षेत्रबाट आगो पुगेको टेलिकम दार्चुलाका प्रमुख गुरुङले बताए ।टेलिकमको टावरमा आगलागी भएको प्रारम्भिक जानकारी प्रहरी र सशस्त्र प्रहरीले दिएको थियो । तर छाङरुका स्थानीयवासी टावरबाट आगालागी शुरु भएर जंगलक्षेत्रमा पुग्न सक्ने अवस्था नरहेको बताउँछन् । ‘टेलिकमको टावर उचाईको डाँडामा छ, महाकाली नदी छेउको जंगल क्षेत्रमा डाडाको टुप्पोबाट आगो सरेर तलतिर कसरी आउँछ रु’ छाङरुका एक स्थानीय प्रश्न गर्छन्।
कौवाक्षेत्रको वनमा आगलागी भएको जानकारी प्राप्त भए पनि क्षतिको विवरण र आगलागीको कारण खुल्न नसकेको अपी नाम्पा संरक्षण क्षेत्रका प्रमुख संरक्षण अधिकृत नुरेन्द्र अर्यालले बताए। ‘त्यहाँ जानसक्ने अवस्था छैन, नेपालतर्फ बाटो छैन, भारतबाट जान अहिले हामीलाई अनुमति मिल्दैन’ उनले भने । आगलागीबाट केही रुख जले पनि सुरक्षाकर्मीले आगो नियन्त्रणमा लिइसकेको उनको भनाइ छ । कौवाक्षेत्रमा धुवाँको मुस्लो देखिएपछि त्यसैदिन भारतको गुञ्जीक्षेत्रका स्थानीयले छाङरुका बासिन्दालाई फोटो पठाएका थिए । हाल सदरमुकाममा रहेको छाङरुका वासिन्दाले जिल्लास्थित सुरक्षा निकायसंग यसबारे चासो राखेका थिए । व्यासमा रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले तत्कालै टेलिकमका टावरबाट आगलागी भएको रिपोर्टिङ गरेको थियो । तर, टेलिकम टावरबाट नभएर बसुन्धराको जंगलबाट आगलागी शुरु भई टेलिकमको ज्याक्ती टावरसम्म पुगेको पछिल्लो जानकारी सुरक्षा निकायले दिएका छन्।
कुनै चोरीशिकार गर्ने समूहले आगलागी गरेको हुनसक्ने अनुमान गरिँदै छ । तर, आगलागी भएको ठाउँभन्दा ३ किमि दूरीमा रहेको सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले आगलागीको कारण पत्ता लगाउन नसक्नु र टेलिकमको टावरबाट आगलागी शुरु भएको प्रारम्भिक जानकारी दिनुले स्थानीयमा शंका उत्पन्न भएको छ । ‘सुरक्षाकर्मीले निगरानी गर्न नसकेर आगलागी भएको देखिन्छ’ छाङरुका एक स्थानीय युवाले भने । , ‘आगलागी हुने दुइटा अवस्था छन्– पहिलो चोरीशिकारी गर्ने समूहबाट र दोस्रो सुरक्षाकर्मीबाट ।’ ‘नजिकको वनक्षेत्रमा आगलागी हुँदा छाङरुमा रहेका सुरक्षाकर्मीले गस्ती र निगरानी राम्रोसँग गर्न नसकेको देखिन्छ’ छाङरुवासीको भनाइ छ । भारतीय सुरक्षाकर्मी वा चोरीशिकार समूहको मिलेमतोमा पनि आगलागी भएको हुनसक्ने स्थानीयको आशंका छ ।भारतीय क्षेत्रमा वनजंगल नभएकोले कौवाक्षेत्रबाट वन फडानी र काठ तस्करी हुँदै आएको विगत छ । छाङरुमा निर्माण भइरहेको सशस्त्र प्रहरीको गुल्म भवनका लागि समेत कौवाक्षेत्रबाट काठ काटिएको छ । कौवाक्षेत्रबाट काठ काट्ने र ढुवानी गर्ने ठेकेदारको कार्यमा सशस्त्र प्रहरी संलग्न हुँदै आएको छ । छाङरुमा रहेका सुरक्षाकर्मीले दैनिक ज्यालादारी लिएर ठेकेदारको काठ कटान र ढुवानी गरेकाले कौवाक्षेत्रको आगलागीमा सुरक्षाकर्मीमाथि नै आशंका गर्ने स्थानीय पनि छन् । आगलागीबाट डढेका र सुकेका रूख भारततर्फ तस्करी गर्ने उद्देश्यले कौवाक्षेत्रको जंगलमा आगो लगाएको हुन सक्ने स्थानीयको आशंका छ ।कौवाक्षेत्रमा भएको आगलागीबारे जानकारी प्राप्त भएको र यस्ता घटनामाथि निगरानी बढाउन र सुरक्षा गस्ती बढाउन निर्देशन दिइएको दार्चुला प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । आगलागीबाट अवरुद्ध मोबाइल सेवा सञ्चालनका लागि १/२ दिनमै टेलिकमको प्राविधिक टोली छाङरु पठाउन लागिएको टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले बताएका छन् ।जनआस्था