काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गरेका छन्। दाहालको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरूको नियुक्तिपछि शपथग्रहण गराएकी छिन्। मंगलबार उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनसहित १२ मन्त्री र २ राज्यमन्त्रीले शपथग्रहण गरेका छन्। उपप्रधानमन्त्री र मन्त्रीहरूको शपथ राष्ट्रपति भण्डारीले गराएकी हुन् भने राज्यमन्त्रीहरूको शपथ प्रधानमन्त्री दाहालले गराएका हुन्।
एमालेले ८, माओवादी केन्द्रले प्रधानमन्त्रीसहित ५ मन्त्री, रास्वपा र राप्रपाले ३-३ मन्त्रालय र जनमतले एउटा मन्त्रालय लिएको छ । माओवादी, रास्वपा र राप्रपाले १/१ राज्यमन्त्री पाएका छन्। मंगलबार राप्रपाबाट ध्रुवबहादुर प्रधान कानुनमन्त्री र विक्रम पाण्डेले सहरी विकासमन्त्री र दीपकबहादुर सिंहले ऊर्जा राज्यमन्त्रीका रूपमा शपथ लिएका छन्।
त्यस्तै एमालेबाट विमला राई पौड्यालले परराष्ट्र, पदम गिरीले स्वास्थ्य, भगवती चौधरीले महिला बालबालिकामन्त्री तथा हरि उप्रेतीले रक्षामन्त्रीका रूपमा शपथ लिएका छन्।त्यस्तै माओवादीबाट रेखा शर्माले सूचना, सञ्चार तथा प्रविधि, सुदन किरातीले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री र अमनलाल मोदीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीका रूपमा शपथ लिएका छन् । माओवादीबाट मन्त्री बनेकी सुशीला श्रीपाली भने शपथग्रहण कार्यक्रममा उपस्थित भएकी थिइनन्। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनालले शिक्षामन्त्री, डोलप्रसाद अर्यालले श्रम तथा समाजिक सुरक्षामन्त्री तथा डा. तोसिमा कार्कीले स्वास्थ्य राज्यमन्त्रीका रूपमा शपथ लिएका छन्।